चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर


चितवन, १९ साउन । पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतङ्क सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका–१५ गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको एक किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिए ।

खोरमा हालसम्म चितुवा परेको छैन । चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ । यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको थियो ।

यसअघि नियन्त्रणमा लिइएको चितुवाको बच्चालाई सौराहा पुर्याइ खोरमा राखिएको छ । यस क्षेत्रमा एउटा माउ र बच्चा अझै रहेको बताइन्छ ।