जनकपुरधाम, २० साउन । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ ।
नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले नगर क्षेत्रका २६ वटै वडामा स्वास्थ्य संस्था विस्तार गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय साहका अनुसार पछिल्लोपटक उपमहानगरपालिकाको १२, १४ र १६ नम्बर वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गरिएको छ । नगरका सबै वडामा स्वास्थ्य सेवा पुर्याउने नीतिअनुरुप तीनवटा सहरी स्वास्थ्य केन्द्र विस्तारसँगै नगर क्षेत्रको २५ वटै वडामा स्वास्थ्य संस्था पुगेको उनले बताए ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडामध्ये वडा नं १ देखि वडा नं ११ सम्म आधारभूत स्वास्थ्य केन्द्र र वडा नं १३, १५, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा स्वास्थ्य केन्द्र सञ्चालन छ । ती सबै स्वास्थ्य संस्थाबाट सरकारले तोकेका औषधिहरू निःशुल्क वितरण भइरहेको प्रमुख साहले बताए । यसबाहेक स्वास्थ्य संस्थाबाट विभिन्न किसिमका खोप सेवा, पोषण स्वास्थ्य सेवालगायत स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।
स्वास्थ्य उपचारको आभावमा नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ नगर क्षेत्रको सहरी तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना र त्यसमा जनशिक्तसँगै औषधिको व्यवस्थापन गर्दै आएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।




प्रतिक्रिया