भद्रपुर (झापा), २० साउन । सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसीक्यामेरा जडान अभियान सुरुआत गरिएको छ । विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित अभियान थालिएको हो ।
अभियानको पहिलो चरणअन्तर्गत मङ्गलबार बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयमा सिसीक्यामेरा जडान गरिएको छ । विद्यालय परिसरमा चारवटा सिसीक्यामेरा जडानसँगै सुरु भएको अभियानलाई आगामी दिनमा गाउँपालिकाभित्र रहेका १६ वटै सामुदायिक विद्यालयमा विस्तार गर्ने योजना रहेको छ ।
विद्यालय बिदा भएका समयमा केही बालबालिका तथा युवाहरू विद्यालय परिसरमा जम्मा भएर अवाञ्छित गतिविधि गर्ने, विद्यालयको सम्पत्तिमा क्षति पुर्याउने तथा लागुऔषधसँग सम्बन्धित गतिविधि देखिन थालेपछि निगरानीका लागि प्रविधिको प्रयोग गर्न थालिएको विद्यालयले जनाएको छ ।
“विद्यालय परिसरमा देखिएका अवाञ्छित गतिविधिको निगरानी, नियन्त्रण र सुरक्षित वातावरण निर्माणका लागि सिसीक्यामेरा जडान गरिएको हो”, प्रधानाध्यापक घनश्याम उप्रेतीले भने, “यसले विद्यालयको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरेका छौँ ।”
यो अभियान सरकारी बजेटबाट नभई समुदायको पहलमा सुरु भएको हो । बाह्रदशी–२ निवासी तथा स्थानीय व्यवसायी एवं विद्यालयका पूर्वविद्यार्थी चान मोहम्मदको आर्थिक सहयोगमा पहिलो चरणको काम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले विद्यालय सुरक्षा समाजको भविष्यसँग जोडिएको विषय भएको बताए ।
उनले सिसीक्यामेराले विद्यालयमा हुने हिंसा, चोरी, लागुऔषधसँग सम्बन्धित गतिविधिलगायतका जोखिम नियन्त्रणमा सहयोग पुर्याउने भन्दै प्रविधिको प्रयोगलाई ‘बिनाबर्दीको प्रहरी’का रूपमा व्याख्या गरे । त्यस्तै, विद्यालय सुरक्षा मजबुत बनाउन समुदाय, विद्यालय र प्रहरीबीचको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।




प्रतिक्रिया