वित्तीय प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न पुनः ठूलो परिमाणको रकम प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले वित्तीय प्रणालीबाट थप रु. ८५ अर्ब निक्षेप खिच्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागद्वारा जारी सूचना अनुसार तीन महिना (९१ दिन) अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागिएको हो। इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न ३:०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।

निक्षेप संकलनको अन्तिम विवरण आजै सार्वजनिक गरिने र यसको ब्याजदर खुला बोलकबोल प्रक्रियाबाटै तय हुने बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम रु. १० करोड र अधिकतम रु. ५ करोडका गुणांकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदर प्रस्ताव गरी एकभन्दा बढी आवेदन समेत पेस गर्न पाउने व्यवस्था गरिएको छ।

यस उपकरणमार्फत संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ।

वित्तीय बजारमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भई ब्याजदरमा उतारचढाव नआओस् भन्नका लागि राष्ट्र बैंकले समय-समयमा निक्षेप संकलन उपकरण (Deposit Collection Facility) मार्फत बजारबाट रकम प्रशोचन गर्दै आएको छ। हाल बैंकहरूमा कर्जाको माग सुस्त रहेको र निक्षेप भने निरन्तर बढिरहेकाले केन्द्रीय बैंकले खुला बजार कारोबारमार्फत अल्पकालीन तरलता खिच्ने रणनीतिलाई निरन्तरता दिएको हो।