काठमाडौँ, २० साउन । सरकारले सङ्घीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ ।
सङ्घीय संसद्का दुवै सदनमा सांसदले उठाएका जनसरोकारका सवाललाई अभिलेखमा मात्र सीमित नराखी सम्बोधन, प्रगति विवरण सङ्कलन र नियमित अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
गत एक सातामा प्रतिनिधिसभा र राष्ट्रियसभामा शून्य समय र विशेष समयलगायत छलफलमा उठेका नागरिक सरोकारका विषय सम्बन्धित मन्त्रालयले टिपोट तथा अभिलेखीकरण गरी समाधानका लागि गरिएको आवश्यक पहल र भएको प्रगतिबारे सम्बन्धित सांसदलाई जानकारी गराउन थालेको छ ।
संसद्मा उठेका सवालको प्रभावकारी सम्बोधन, सरकारको जवाफदेहीता र नागरिकप्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयकाअनुसार वैदेशिक रोजगार, राहदानी, मल खरिद, विकास निर्माण, पर्यटन क्षेत्रको विकास, दलित समुदायका विषय, टेलिकमको पहुँच, स्वास्थ्य उपचारमा पहुँच, अस्पताल व्यवस्थापन, सडक दुर्घटना तथा जातीय विभेदविरुद्धलगायतका विषयमा संसद्मा उठेका गुनासो, सुझाव र ध्यानाकर्षणलाई सम्बन्धित मन्त्रालयले सम्बोधन गर्न थालेका छन् ।
कतिपय सांसदलाई टेलिफोनमार्फत जानकारी गराइएको र कतिपय सवालको सम्बोधन अन्य माध्यमबाट गराउने तयारी मन्त्रालयले गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।
उनका अनुसार यसअघि संसद्मा सम्बन्धित मन्त्रीले जवाफ दिएपछि उठाइएको प्रश्न वा समस्याको कार्यान्वयन अवस्था सम्बन्धित सांसदलाई जानकारी गराउने संयन्त्र र अभ्यास थिएन ।
प्रवक्ता अर्यालले सांसदले जनसरोकारका विषयमा उठाएको सवाल सम्बन्धित मन्त्रालय र अन्तर्गतका निकायबाट समाधनका लागि भएका पहल, सम्पादित कार्य तथा प्रगतिका बारे मन्त्रालयहरूबाट प्रश्नकर्ता सांसदलाई प्रत्यक्ष जानकारी गराउने प्रणालीलाई संस्थागत गर्न खोजिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयद्वारा प्रगतिको नियमित अनुगमन
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा विभिन्न मन्त्रालयबाट संसद् रिपोर्टिङका लागि खटिएका कर्मचारीसँग गत असार २६ गते छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।
सोहीअनुसार प्रधानमन्त्री कार्यालयले संसद्मा उठेका सवालको सम्बोधनको प्रगति विवरण हरेक साता सबै मन्त्रालयबाट प्राप्त गर्ने र त्यसका आधारमा समग्र अवस्थाको अनुगमन गर्ने व्यवस्था गरेको छ ।
गत एक साता सञ्चालन भएको दुवै संसद्को बैठकपछि सबै मन्त्रालयबाट साप्ताहिक विवरण प्रधानमन्त्री कार्यालयमा प्राप्त भइरहेको जानकारी दिँदै प्रवक्ता अर्यालले त्यसको नियमित र सुक्ष्म अनुगमन गरिने बताए ।
उनका अनुसार त्यससम्बन्धी प्राप्त विवरणलाई मन्त्रालयगत रूपमा एकीकृत गरी उच्च व्यवस्थापन तथा प्रधानमन्त्रीको सचिवालयलाई नियमित रूपमा उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले संसद्मा उठेका सवालको प्रवृत्ति दोहोरिने विषयको समेत विश्लेषण गर्न थालेको जनाएको छ । मन्त्रालयले ती रिपोर्टिङलाई व्यवस्थित र छिटोछरितो बनाउन ह्वाटस् एप तथा इमेलमार्फत समेत विवरण पठाउने गरेका छन् ।
संसद्मा उठेका सवालको कार्यान्वयन प्रगतिको नियमित अनुगमन गरी आवश्यकतानुसार सम्बन्धित मन्त्रालयलाई थप पहलका लागि अनुरोध गर्ने तथा आवश्यक समन्वय र सहजीकरण गर्ने अभ्याससमेत अघि बढाइएको छ ।
त्यस्ता विषयको विश्लेषणका आधारमा नीतिगत सुधारका लागि सुझाव तयार गर्ने र संसद्मा उठेका विषयको सम्बोधनको प्रभावकारिता बढाउन मन्त्रालयका सम्पर्क व्यक्तिसँग नियमित समन्वय तथा अन्तक्र्रिया गर्ने अभ्यासलाई संस्थागत गरिएको प्रवक्ता अर्यालले जनाकारी दिए ।
मन्त्रालयबाट प्राप्त साप्ताहिक विवरणका आधारमा प्रधानमन्त्री कार्र्यालयले संसद्मा उठेका जनसरोकारका सवालको सम्बोधनको समग्र अवस्था हेर्दै आवश्यक देखिएका विषयमा सम्बन्धित मन्त्रालय तथा निकायसँग थप पहल र समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ । रासस




प्रतिक्रिया