सरकार जनविश्वासको संकटबाट जोगिन विषयान्तर गर्दैछ : नेपाली कांग्रेस


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नैतिक, राजनीतिक र जनविश्वासको गम्भीर संकट सामना गरिरहेको आरोप लगाएको छ। समस्याको वास्तविक समाधान खोज्नुको सट्टा सरकारले सर्वसाधारणको ध्यान अन्यत्र मोड्न रणनीतिक रूपमा नयाँ–नयाँ बहस सिर्जना गरिरहेको कांग्रेसको दाबी छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार सुशासन र उत्तरदायित्वका सवालमा पूर्णतः कमजोर बन्दै गएको टिप्पणी गरे। जनचासोका मूल मुद्दाहरू ओझेलमा पार्न सरकारले विषयान्तरको राजनीति अपनाएको उनले बताए।

“सरकारको प्राथमिक दायित्व सिर्जित समस्याहरूको निकास दिनु हो,” प्रवक्ता चालिसेले भने, “तर वर्तमान सरकारले भने आफ्नो दायित्व भुलेर विषयान्तर गरिरहेको छ। यस्तो अवस्थामा सरकारले गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छ।”

उनले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकार जस्ता मौलिक विषयलाई कुनै पनि राजनीतिक चालबाजीले दबाउन नसकिने स्पष्ट पारे। यस्ता मुद्दाहरू समयक्रममा अझ सशक्त बनेर आउने भएकाले सरकारलाई जिम्मेवार बन्न उनले आग्रह गरे।

गठबन्धन वा सरकारको अस्थिरताप्रति कांग्रेसको कुनै रुचि नरहेको उल्लेख गर्दै प्रवक्ता चालिसेले संविधान, कानुनी शासन, सुशासन र पारदर्शिताका आधारमा सरकार प्रभावकारी बन्नुपर्ने धारणा व्यक्त गरे। कांग्रेस अन्य दलको आन्तरिक मामिलामा टिप्पणी गर्न नचाहे पनि सरकारका निर्णयले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि आघात पुर्‍याएमा प्रतिपक्षको हैसियतमा कडा प्रतिवाद गर्ने चेतावनी उनले दिए।

सत्ता प्राप्त गरिसकेपछि सबै दलहरू संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति उत्तिकै निष्ठावान हुन्छन् भन्ने ग्यारेन्टी पछिल्ला घटनाक्रमले नदिएको उल्लेख गर्दै चालिसेले लोकतन्त्रप्रतिको वास्तविक प्रतिबद्धता बोलीमा नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिए।