अवैध सामान बरामद


भद्रपुर (झापा), २१ साउन । यहाँको मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले रु दुई लाख ६६ हजार २५ बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले विभिन्न प्रकारका मोबाइलका सहायक सामग्री र बालबालिकाका कपडा बरामद गरेको हो । प्रहरीका अनुसार मोबाइलका सहायक सामग्रीको मूल्य रु दुई लाख ५५ हजार ४२५ बराबर छ । यस्तै, बालबालिकाका कपडाको मूल्य रु १० हजार ६०० बराबर छ ।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।