काठमाडौँ, २१ साउन । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार दिनेश अधिकारीको ‘एकल काव्य साँझ’ मा उनले पाठशाला स्थापनाका लागि दूतावासले आवश्यक सहयोग एवं सामग्री उपलब्ध गराउने विश्वास दिलाए । राजदूत भट्टराईले फ्रान्समा नेपाली समूदायको बाक्लो उपस्थिती रहेकाले पेरिसमा श्रष्टाबाटै गीतसङ्गीत सुन्ने अवसर प्राप्त हुन सुखद भएको बताए ।
नेपाली दूतावास फ्रान्स र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) द्वारा आयोजित सो कार्यक्रममा अधिकारीले आफ्ना दुई दर्जन कविता वाचन गरेका थिए ।
अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेतीसहित राम पाण्डे, हरिहर अर्याल र सुमित्रा बुर्लाकोटीले प्रवासमा रहँदा नेपाली सङ्गीतको महत्त्वले अझ प्राथमिकता पाउने भनाइ राखे । सो अवसरमा गायक रन बराइलीले गीतकार अधिकारीका गीत गाएका थिए।




प्रतिक्रिया