‘बालेन र रवि एउटै जहाजका पाइलट बनुन्, ५ वर्ष देश चलाउन्’: धमला


काठमाडौँ । संकटपूर्ण घडी, कडा कर्फ्यु र द्वन्द्वकालका कठिन मोडहरूमा पनि रोकिएन ‘रिपोर्टर्स क्लब नेपाल’ । इतिहासका अनेकौँ घुम्ती पार गर्दै आएको संस्थाबारे मिराज ढुङ्गानासहित आयोजित संयुक्त पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले स्पष्ट पारे- ‘हामीले राज्यलाई बुझाउनुपर्ने रकम बुझाइसक्यौँ, अब क्लब खुल्छ । रिपोर्टर्स क्लब पुनः नयाँ ऊर्जाका साथ जनताको आवाज बनेर फर्किँदैछ ।’

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष धमलाले रिपोर्टर्स क्लब सधैँ उत्पीडित, विपन्न र आवाजविहीनहरूको भरोसायोग्य मञ्च रहेको स्मरण गराए । जेनजी आन्दोलन शुरु हुनुभन्दा अघि धेरै वक्ताले र जेन्जी आन्दोलनको समयमा पनि सुधन गुरुङले यही मञ्चबाट बालेन शाहको निर्देशनमा विचार राखेको उल्लेख गर्दै धमलाले क्लबले सधैँ सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई साथ दिएको बताए ।

‘जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि यो मञ्च निरन्तर चल्यो । द्वन्द्वकालमा विद्रोही पक्षका नेता डा. बाबुराम भट्टराई र तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई एउटै मञ्चमा राखेर बहस गराएको इतिहास क्लबसँग छ,’ धमलाले विगत सम्झँदै भने, ‘सोसल मिडिया बन्द गराएकै कारण केपी ओली नेतृत्वको सरकार ढलेको तथ्य बिर्सनु हुँदैन । मिडियाको शक्ति र भूमिका सधैँ अतुलनीय हुन्छ ।’

वर्तमान राजनीतिक अवस्था र प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति टिप्पणी गर्दै धमलाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । ‘बालेन शाह प्रधानमन्त्री बनेको चार महिना कटिसक्यो, दुई तिहाइ नजिकको यो सरकारले धेरै काम गर्न सक्थ्यो । तर जनताका मुख्य मुद्दामा ठोस परिणाम देखिएको छैन,’ धमलाले भने, ‘बालेनजी पूरै पाँच वर्ष प्रधानमन्त्री बनेर देश चलाउनुहोस्, मेरो शुभकामना छ । उहाँलाई रवि लामिछानेको पूर्ण साथ र सहयोग रहोस् ।’

बालेन र रविबीचको सम्बन्धलाई लिएर उठिरहेका प्रश्नहरूप्रति लक्षित गर्दै धमलाले दुवै नेता एउटै जहाजका पाइलट बनेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । परराष्ट्र नीतिको प्रसङ्ग निकाल्दै उनले परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रश्न गरे, ‘अहिलेको परराष्ट्र नीति सन्तुलित छ त ?’
यसैबीच, प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनसँगको आफ्नो भेटलाई उद्धृत गर्दै धमलाले प्रम बालेन छिट्टै भारत भ्रमणमा जान लागेको जानकारीसमेत दिए ।

‘गरिब, भूमिहीन, सुकुम्बासी र लघुवित्त पीडितहरूले अझै न्याय पाएका छैनन् । सुशासनको प्रत्याभूति हुन सकेको छैन भने कर्मचारीतन्त्र र सरकारबीच समन्वयको अभाव छ,’ धमलाले भने ।

अध्यक्ष धमलाले तराईमा घटेका घटनाका शहीद परिवारको माग सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र अबको पत्रकारिता जनता, किसान र असहायको आवाज बन्नुपर्नेमा जोड दिए ।
यसैबीच, नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका मिराज ढुङ्गानालाई अध्यक्ष धमलाले पार्टीको नभई सोझै जनताको नेता बन्न र देशका ७५३ वटै स्थानीय तहमा गैरदलीय उम्मेदवार खडा गर्ने एजेन्डा अघि सार्न सुझाव दिए ।

सोही अवसरमा बोल्दै जेनजी नेता मिराज ढुङ्गानाले जेन्जी आन्दोलनको मर्म र भावनाअनुसार बालेन सरकारले काम गर्न नसकेको दाबी गरे । किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएर माइतीघरमै गोलभेँडा फ्याँक्नुपरेको दुखेसो पोख्दै उनले शेयर बजारमा छ खर्ब रुपैयाँभन्दा बढीको गिरावट आउनुले सर्वसाधारण मारमा परेको बताए ।

‘राज्यले नागरिकबाट उठाउने मात्रै काम गर्यो, बदलामा केही दिएको छैन,’ ढुङ्गानाले भने, ‘हरेक वर्ष गाडी र बाइकको नवीकरण कर लिइन्छ, सवारी साधन किन्दा मोटो रकम असुलिन्छ, तर सुविधा शून्य छ । राज्यले जनताबाट असुल्ने मात्र र बदलामा केही नदिने हो भने कुनै पनि सरकार लामो समय टिक्न सक्दैन ।’