काठमाडौँ । सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने आवश्यक पहल भएको स्पष्ट पारिएको छ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार, अत्यधिक भीडभाड र असुरक्षालाई ध्यानमा राखेर यो सेवा ल्याउन लागिएको जानकारी दिइन्।
मन्त्री बादीका अनुसार ‘ब्लु बस’ ले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन गर्दैन, न त महिलाहरूलाई अन्य सवारी साधन प्रयोगमा प्रतिबन्ध नै लगाउँछ।
समानताको अर्थ सबैलाई एउटै व्यवहार गर्नु मात्र होइन, विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार संरक्षण र सुविधा दिनु पनि हो,’ मन्त्री बादीले भनिन्, ‘यही संवैधानिक तथा नीतिगत मान्यताअनुरूप ‘ब्लु बस’ सेवा अघि बढाइएको हो।’
विशेष गरी गर्भवती, साना बालबालिकासहितका आमा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका महिलाहरूलाई भीडभाडयुक्त सार्वजनिक यातायातमा थप कठिनाइ हुने भएकाले उनीहरूको सुरक्षित आवागमन र शिक्षा, स्वास्थ्य एवं रोजगारीमा सहज पहुँच पुर्याउन यो सेवा फलदायी हुने सरकारको विश्वास छ।




प्रतिक्रिया