काठमाडौं, साउन २२ । गुन्डा डन अभिषेक गिरीलाई पुनः पक्राउ परेका छन् । काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत बिहीबार बेलुकी ७ः०५ बजे विराटनगर पुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले गिरीलाई पक्राउ गरेको होे।
गिरी यसअघि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका क्रममा पक्राउ परेका थिए। निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुलेको भन्दै दिएको किटानी जाहेरीका आधारमा सीआईबीले गत असार २३ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको थियो। सोही आधारमा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो।
सीआईबीको अनुसन्धानले गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै सोही रकम बिगो मागदाबी गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले साउन १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उनले तत्काल धरौटी रकम नबुझाएपछि डिल्लीबजार कारागार चलान गरिएको थियो। पछि धरौटी बुझाएर रिहा भएका थिए।
सीआईबीको अनुसन्धानअनुसार विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीले आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत श्रेष्ठले पाएको ठेक्का सम्पन्न गरिदिने भन्दै रकम लिएर ठगी गरेको आरोप छ ।




प्रतिक्रिया