नेपालगन्ज (बाँके), २२ साउन । मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व चहेल्लम सम्पन्न भएको छ । कर्बलाका सहिदको सम्झनास्वरुप मोहर्रमको ४० दिनपछि मनाउने चहेल्लम पर्वमा बुधबार राति ताजिया राख्ने गरिन्छ ।
नेपाल मोहरर्म पर्व धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालका अनुसार अलमसहितको हुसैनी जुलुस नगर परिक्रमा गरी सम्पूर्ण ताजियालाई एकीकृत गरी स्थानीय कर्बलामा विसर्जन गरी चहेल्लम पर्व बिहीबार समापन गरिएको थियो ।
उनले बुधबार राति करिब ९ः०० बजेतिर एक्लैनी र भट्टाबाट निस्किने कर्बलाको नक्सासहितको ठेला, अलम र ताजियासमेतको हुसैनी जुलुस एमपी स्कुल, वडा प्रहरी कार्यालय, एकलैनी, जोलहनपुर्वा, टाँगा स्ट्याण्ड, त्रिभुवन चोक, त्रिवेणी मोड हुँदै गौसिया मस्जिद पुगी मिलान भएको जानकारी दिए ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाति हजरत इमामे हुसैनसहित उहाँका परिवारका सदस्य, आफन्तलगायत अन्य मित्रहरूले शताब्दीऔँअघि इराकस्थित कर्बलामा युद्धको दौरान सहादत प्राप्त गरेका थिए । तिनै सहिदको सम्झनामा हरेक वर्ष हुसैनी जुलुससहित चहेल्लम पर्व मनाइने गरिन्छ ।




प्रतिक्रिया