सिन्धुपाल्चोकमा पहिरो: तातोपानीस्थित सशस्त्र प्रहरीको बीओपीमा क्षति


काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा गएराति खसेको सुक्खा पहिरोले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुर्‍याएको छ। ठूलो पहिरो खसे पनि सौभाग्यवश कुनै मानवीय क्षति भने हुन पाएको छैन।

सशस्त्र प्रहरीका अनुसार राति करिब १:१५ बजे बीओपीको उत्तर-पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट अचानक सुक्खा पहिरो खसेको थियो। पहिरोसँगै खसेका विशाल चट्टान र ढुंगाका कारण बीओपी परिसरका संरचनामा क्षति पुगेको छ।

क्षतिको विवरण

  • ब्यारेक भवन: पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेको छ।
  • ड्युटी पोस्ट: एउटा ड्युटी पोस्ट पूर्णरूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ।
  • अन्य संरचना: परिसरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोल पूर्णरूपमा भाँचिएको छ। साथै बाथरुम, जिन्सी स्टोर भवन र मुख्य गेटअगाडिको सिँढीमा समेत क्षति पुगेको छ।

घटनालगत्तै सुरक्षा अवस्थाको वस्तुस्थितिको मूल्याङ्कन गरिएको र क्षति पुगेका भौतिक संरचनाको मर्मत-सम्भारका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको सशस्त्र प्रहरीले जनाएको छ।