गाजामा अक्टोबरदेखि तीन सय बालबालिकाको मृत्यु : युनिसेफ


न्युयोर्क २२ साउन । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ ।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औसतमा एक जना बच्चाको ज्यान गएको बताउँदै उहाँले अन्य सयौँबालबालिका घाइते भएको बताउनुभयो । घाइतेमध्ये धेरै गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै उहाँले गाजाका बालबालिकाहरू अझै पनि हिंसा अन्त्यको प्रतीक्षामा रहेको बताउनुभयो ।

युनिसेफका अनुसार परिवारहरू हाल गाजा पट्टीको करिब एक तिहाइ भू–भागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जम्मा भएर असुरक्षित भएका स्थानमा बाँचिरहेका छन् ।

गाजा पट्टीभरि बालबालिकाहरूले तीव्र कुपोषण, रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाइ प्रणालीको सामना गर्न बाध्य भएको जनाइएको छ ।

युनिसेफले सबै सम्बन्धित पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्ना दायित्वहरू कायम राख्न आह्वान गरेको छ ।

एजेन्सीले बालबालिकाको सुरक्षा गर्न, स्वास्थ्य सेवा, शिक्षा, सुरक्षित पिउने पानी र खाना लगायत आवश्यक वस्तु र सेवाहरूमा उनीहरूको पहुँच सुनिश्चित गर्न र समस्यामा परेका बालबालिकाहरूलाई सुरक्षित, द्रुत र निर्बाध मानवीय पहुँचको सुविधा प्रदान गर्नुपर्नेमा जोड दिएको छ । रासस