कांग्रेस जोगाउन इतर समूहको कसरतः साउन २९ को राष्ट्रिय भेलामा देउवा मुख्य वक्ता


काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाका संयोजक डा. शशाङ्क कोइरालाले साउन २९ गतेदेखि सुरु हुने भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन्। नेता कोइरालाका अनुसार राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको छ।

उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा र नयाँ जीवन दिने उद्देश्यसहित भेला आयोजना गर्न लागिएको बताए। “राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु,” कोइरालाले भने।

पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतले कांग्रेससम्बन्धी दिएको आदेश सकारात्मक रहेको प्रतिक्रिया दिए। यसैबीच, उपचारपछि देउवा नेपाल फर्किने क्रममा सम्भावित धरपकडबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा कोइरालाले त्यसको विरोध गर्ने बताए।

कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ।