मन्त्रालय छोडेर गाउँ पस्दै मन्त्री: असोजभर रोहिणीबाटै चल्नेभयो पूर्वाधार विकास मन्त्रालय !


काठमाडौ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो मन्त्रालयको काम एक महिनासम्म रुपन्देहीको रोहिणी गाउँपालिकाबाट सञ्चालन गर्ने घोषणा गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रोहिणी गाउँपालिकामा गाउँब्लक जग्गा अन्तर्गत रहेका २७३ जना स्थानीयलाई लालपुर्जा वितरण गर्दै मन्त्री लम्सालले असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने बताएका हुन्।

उनले स्थानीयका समस्या प्रत्यक्ष रूपमा सुन्ने, पूर्वाधार विकासका कामलाई अघि बढाउने र नागरिकसँग नजिक भएर काम गर्न यस्तो निर्णय गरेको बताए। त्यसका लागि आवश्यक कार्यालयको खोजी भइरहेको उनको भनाइ छ। “मन्त्रालय नै यहीँ बसेर चलाउने तयारी छ। असोज महिनाभर एक महिना यही रोहिणीमा बसेर काम गर्ने वाचा गर्छु,” उनले भने।

मन्त्री लम्सालले रोहिणीका दीर्घकालीन समस्या समाधानका लागि सरकारले योजना बनाइरहेको बताए। उनले गाउँपालिकामा देखिँदै आएको डुबान समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले अव्यवस्थित बसोबासी तथा भूमिहीनको समस्या समाधान गर्न सरकारले छुट्टै विधेयक ल्याएर दीर्घकालीन समाधानको आधार तयार गरिरहेको जानकारी दिए। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई नागरिकका समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर काम गर्न निर्देशन दिए।

वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि स्वामित्व प्रमाणपत्र नपाएका नागरिकको समस्या समाधान गर्न सरकारले नीतिगत पहल थालेको उल्लेख गर्दै उनले स्थानीयका समस्या समाधानका लागि सरकार निरन्तर काम गरिरहेको बताए।