गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने


काठमाडौं, साउन २३ । सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतक परिवारबिच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो ।

प्रदेश सरकार सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइने सहमति पत्रमा उल्लेख छ ।

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा यही साउन १४ गते भएको प्रदर्शनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो । मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएकोले प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताए।