सगरमाथाको शिखर जाने बाटोमा विगत ३० वर्षदेखि हिउँमा जमेर रहेको ‘ग्रीन बुट्स’ भनेर चिनिने शवलाई अब घर फर्काउने तयारी भइरहेको छ । सन् १९९६ मा मृत्यु भएका भारतीय पर्वतारोही दोर्जे मोरुपको शव मानिएको उक्त शरीर सगरमाथाको करिब ८ हजार ५०० मिटर उचाइमा रहेको छ ।
हरियो रङका पर्वतारोहण जुत्ता लगाएको अवस्थामा रहेको उक्त शव दशकौँदेखि सगरमाथा आरोहीका लागि एउटा चिर–परिचित भयावह बिम्म थियो भने सगरमाथा चुचुरोतिर मार्गनिर्देश गर्ने ल्याण्डमार्क पनि ।
लामो समयसम्म यसलाई सोही सन् १९९६ को भारतीय आरोहण दलका सदस्य तेसेवाङ पाल्जोरको शव ठानिँदै आएको थियो । जीवित आरोहीहरूको बयान, अन्तिम रेडियो सम्पर्कको स्थान तथा शवसँग भेटिएका कपडा र आरोहण सामग्रीका आधारमा भारतीय अधिकारीहरूले पनि यो दोर्जे मोरुपको शव भएको निष्कर्ष निकालेका छन् ।
भारत–चीन सीमा सुरक्षामा खटिने इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) का ४८ वर्षीय जवान मोरुप सगरमाथाको उत्तरी अर्थात् चीनतर्फको बाटोबाट आरोहण गर्ने ऐतिहासिक भारतीय टोलीका सदस्य थिए । उनले सन् १९९६ को मे १० मा साँझ ५ः३० बजे सगरमाथाको शिखर पुगेको प्रमाणपत्र चिनियाँ सरकारबाट पाएका थिए ।
तर शिखरबाट फर्कने क्रममा आएको भीषण हिमआँधीमा मोरुपसहित तेसेवाङ स्मान्ला र तेसेवाङ पाल्जोरको मृत्यु भएको थियो । उनीहरूको शवमध्ये दुईवटा अझै फेला परेका छैनन् ।
अत्यन्त जोखिमपूर्ण उद्धार
सगरमाथाको ‘डेथ जोन’ भनिने क्षेत्रमा शव उद्धार गर्नु अत्यन्त जोखिमपूर्ण मानिन्छ । त्यहाँ तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ र समुद्री सतहको तुलनामा अक्सिजनको मात्रा करिब एकतिहाइ मात्र हुन्छ ।
पर्वतारोहीहरूका अनुसार चीनतर्फको बाटो अझ भिरालो र कठिन भएकाले शव तल झार्नु पनि ठूलो चुनौती हुनेछ । शव रहेको स्थानसम्म पुग्न मात्रै पनि शिखर आरोहण गर्न सक्ने क्षमताका १० देखि १२ जना पर्वतारोही आवश्यक पर्न सक्ने अनुमान छ ।
त्यसपछि शवलाई हेलिकोप्टरले उठाउन सकिने उचाइसम्म बोकेर ल्याउनुपर्नेछ । उद्धार अभियानमा ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च हुन सक्ने विज्ञहरूले बताएका छन् ।
यसैगरि, आईटीबीपीले उद्धार अभियानका लागि विशेषज्ञ उच्च हिमाली उद्धार टोलीको खोजी गरिरहेको छ र सेप्टेम्बरसम्म मोरुपको शव भारत ल्याउने लक्ष्य राखेको छ । भारत ल्याएपछि डीएनए परीक्षणमार्फत यस शवको पहिचानलाई पुष्टि गरिनेछ ।
‘मेरो मनले उनको मृत्यु स्विकारेन’
मोरुपकी पत्नी कोन्चाक याङ्स्किटले शव कहिल्यै नदेखेकाले वर्षौँसम्म श्रीमानको मृत्यु भएको विश्वास गर्न नसकेको बताइन् ।
‘मैले उहाँको शव देखिनँ, त्यसैले उहाँ बित्नुभएको कुरा स्विकार्न निकै कठिन भयो,’ उनले भनिन् ।
मोरुपका जेठा छोरा पुन्चोक दोर्जाइले शव घर फर्किएमा लद्दाखको राजधानी लेहस्थित मार्टियर्स पार्कनजिकै अन्त्येष्टि गर्ने बताए । उनका अनुसार बुबाले देशका लागि ज्यान दिएका कारण उनलाई सहिदका रूपमा सम्झिनुपर्छ ।
परिवारले मोरुपको सगरमाथा आरोहणको प्रमाणपत्रसँगै उनको अन्तिम चिनारी बनेको ‘ग्रीन बुट्स’लाई पनि उनको विरासतको चिनोका रूपमा सुरक्षित राख्ने योजना बनाएको छ ।




प्रतिक्रिया