नेपाली कांग्रेसको आजको बैठकमाथि चौतर्फी नजर


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्दैछ। आगामी महाधिवेशनको तयारीबारे छलफल गर्न बोलाइएको भनिए पनि आजको बैठक मुख्यगरी पार्टीभित्रको बदलिँदो कानुनी र राजनीतिक संकटमा केन्द्रित हुने देखिएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दर्ता गराएको पुनरावलोकन निवेदनले निस्सा पाएसँगै सानेपाको राजनीति एकाएक तातेको छ। सर्वोच्चले अब कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको सुरुदेखि नै पुनरावलोकन गर्ने बाटो खुलेपछि सानेपाको नेतृत्व तह दबाबमा परेको छ।

दिउँसो १ बजेका लागि तय भएको बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र त्यसले पार्नसक्ने राजनीतिक प्रभावबारे गम्भीर छलफल हुने नेताहरूले बताएका छन्।

बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक परिस्थिति र भावी सांगठनिक कार्यसूची प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै, महाधिवेशनको पूर्वसन्ध्यामा पेचिलो बन्दै गएको क्रियाशील सदस्यता विवाद समाधान गर्नु आजको बैठकको अर्को मुख्य कार्यसूची रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

अदालतको सम्भावित फैसला र पार्टीभित्रको चुलिँदो असन्तुष्टिका बिच बस्न लागेको यो बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ।