शान्नान, २४ साउन । तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र यसको उत्कृष्ट प्रकार ‘जेटर’ उत्पादन गर्दै शताब्दीयौँ पुरानो बुनाइ परम्पराको संरक्षणमा योगदान पुर्याएको छ ।
‘एथनिक हुआजी ह्यान्डओभन कोअपरेटिभ’मा दर्जनौँ महिला तथा पुरुष काठका तानमा ऊनका धागो बुन्दै आएका छन् । सहकारीले स्थानीय बासिन्दालाई रोजगारी दिनुका साथै नयाँ पुस्तालाई परम्परागत बुनाइ सीप हस्तान्तरण गर्दै आएको छ ।
तिब्बती कालीगढ पासाङले सन् २००८ मा स्थापना गरेको उक्त सहकारीमा अपाङ्गता भएका व्यक्तिसहित एक सयभन्दा बढी स्थानीयले रोजगारी पाएका छन् ।
सहकारी ‘जेटर’ उत्पादनमा विशेष दक्षता राख्छ । पुलुको उत्कृष्ट तथा मसिनो प्रकार मानिने जेटर भेडाको घाँटी र ढाडको नरम ऊनबाट तयार गरिन्छ । सामान्य पुलुमा प्रयोग हुने ऊनको तुलनामा जेटरका लागि प्रयोग हुने मसिनो ऊनबाट धागो कात्न कठिन हुने पासाङले बताए ।
उनका अनुसार जेटर सामान्य पुलुभन्दा हलुका, नरम र कोमल हुन्छ । मिङ वंशको शासनकालमा यसलाई तिब्बतबाट चिनियाँ शाही दरबारमा उपहार वा सम्मानस्वरूप पठाउने गरिन्थ्यो ।
आफ्ना आमाबुबाबाट बुनाइ सीप सिकेका पासाङका अनुसार आफूले यो सीप सिक्ने समयमा जेटर बुन्न जान्ने मानिसको सङ्ख्या १० भन्दा कम थियो । उक्त परम्परागत सीपलाई चीनको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिइएको र नयाँ पुस्ताले यसको संरक्षण गर्ने उनको विश्वास छ ।
जेटर उत्पादनमा प्रयोग हुने ऊन समुद्री सतहबाट करिब तीन हजार ७०० मिटर उचाइमा रहेको शान्नान क्षेत्रमा पालिएका भेडाबाट प्राप्त गरिन्छ ।
सहकारीको कार्यशालामा तिब्बतका सातौँ शताब्दीका राजा सोङत्सेन गम्पो र चिनियाँ राजकुमारी वेनचेङका मूर्ति पनि राखिएका छन् । स्थानीय परम्पराअनुसार, राजकुमारी वेनचेङले राजासँग विवाह गरेपछि तिब्बतमा बुनाइ प्रविधि भित्र्याएको र त्यसपछि यस कलाको विकास भएको मानिन्छ ।
सहकारीको शोरुममा पुलु र जेटरबाट निर्मित स्कार्फ,सल, ज्याकेट, झोलालगायतका सामग्री बिक्रीका लागि राखिएका छन् । पासाङका अनुसार चीनका अन्य क्षेत्रबाट पनि ग्राहक आउने गरे पनि उत्पादनको मुख्य बजार तिब्बतमै रहेको छ । रासस




प्रतिक्रिया