काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रेस तथा सञ्चारमाध्यमको आवाज प्रतिबन्धित गर्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । उनले मिडिया बिनाको लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।
सोमबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने, ‘प्रेसको आवाज प्रतिबन्धित गर्ने काम नगर्नुस् । मिडिया रह्यो भने लोकतन्त्र रहन्छ । मिडियाविनाको लोकतन्त्र हुन सक्दैन ।’
रिपोर्टर्स क्लबले स्थापनादेखि नै सबै राजनीतिक दल, विचार र पक्षलाई आफ्नो धारणा राख्ने अवसर दिँदै आएको उनले बताए । क्लबले अहिलेसम्म कसैलाई प्रतिबन्ध नगरेको उल्लेख गर्दै त्रिपाठीले देशका दुर्गम गाउँदेखि आएका नागरिकले समेत आफ्ना आवाज आम नागरिकसमक्ष पुर्याउने साझा मञ्चका रूपमा रिपोर्टर्स क्लबले भूमिका निर्वाह गरेको बताए ।
‘रिपोर्टर्स क्लबले हरेक पार्टी र हरेक विचारका लागि साथ दिएको छ । क्लबले कसैलाई प्रतिबन्धित गरेन,’ उनले भने, ‘दूरदराजका गाउँबाट आएका मानिसले समेत यहाँ आएर आफ्नो आवाज आम नागरिकसमक्ष पुर्याउन सक्ने वातावरण रिपोर्टर्स क्लबले बनाएको छ ।’
त्रिपाठीले वर्तमान सरकारले आफ्नो पूरा कार्यकाल सफलतापूर्वक पूरा गरोस् भन्ने कामना गर्दै जनताको अमूल्य मत र भावनाको सम्मान गर्न आग्रह गरे ।
रिपोर्टर्स क्लबले भाडा तिरिसकेको अवस्थामा पनि नखोल्नु उचित नभएको उनलेे बताए । ‘पैसा तिरेको एक महिना भइसकेछ । तत्काल क्लब खोलिदिनुस्,’ त्रिपाठीले सरकारसँग आग्रह गरे ।




प्रतिक्रिया