बाजुरा, २६ साउन । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि अस्पतालको भवन निर्माणले गति लिन सकेको छैन ।
नगरपालिकाले २०७८ कात्तिक २२ गते स्काई निशान अधिकारी जेभीसँग १८ करोड ८४ लाख ९४ हजार ८६० मा अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८० भदौ २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तोकिएको समय सकिएको लामो समय बितिसक्दा पनि हालसम्म १० प्रतिशतभन्दा कम मात्र काम भएको नगरपालिकाका प्राविधिकले बताएका छन् ।
निर्माण कम्पनीलाई पटकपटक म्याद थप गरिए पनि काममा अपेक्षित प्रगति हुन सकेको छैन । कम्पनीले दुई करोड ६० लाख पेस्की र काम गरेबापत एक करोड १८ लाख गरी हालसम्म तीन करोड ७८ लाख भुक्तानी लिएको छ । तर त्यसअनुसारको भौतिक प्रगति हुन नसकेको नगरपालिकाका प्राविधिकको भनाइ छ ।
अस्पताल निर्माण भइरहेको स्थान भौगोलिक रूपमा भिरालो र पहिरोको जोखिममा रहेको भन्दै स्थानीयवासीले सुरुदेखि नै विरोध गर्दै आएका थिए । अस्पताल निर्माणस्थलको माथिल्लो भागमा रहेका चार परिवारसमेत विस्थापित भएका छन् ।
अस्पतालको जग खन्ने क्रममा माथिल्लो भागमा पहिरोको जोखिम बढेपछि चार परिवारलाई विस्थापित गर्नुपरेको नगरप्रमुख रामबहादुर बानियाँले बताए । उनका अनुसार अस्पताल निर्माणका लागि करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाइको जग्गा आवश्यकपर्ने भए पनि छनोट गरिएको स्थान भिरालो र जोखिमपूर्ण छ ।
“यो ठाउँमा अस्पताल बनाउन हुँदैन, उपयुक्त स्थान खोज्नुपर्छ” भन्ने प्रस्ताव आफू नगरप्रमुख भएपछि बसेको पहिलो कार्यपालिका बैठकमै राखेको नगरप्रमुख बानियाँले बताए ।
निर्माण कम्पनीलाई सहज वातावरण बनाउन नगरपालिकाले डोजर र टिपरसहित आवश्यक सहयोग उपलब्ध गराए पनि कम्पनीले नगरपालिकालाई तिर्नुपर्ने करिब १८ लाख अझै नतिरेको नगरप्रमुख बानियाँले बताए । पटकपटक ताकेता गर्दै निर्माणको म्यादसमेत थप गरिएको उनले जानकारी दिए ।
पछिल्लो पटक ३६ लाख भुक्तानी लिएपछि निर्माण कम्पनीले २०८३ साल मङ्सिर मसान्तभित्र काम सम्पन्न गर्ने लिखित कार्ययोजना नगरपालिकालाई बुझाएको थियो । तर, रकम लिएपछि मुख्य ठेकेदार निशान कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएको नगरप्रमुख बानियाँले बताए ।
स्वास्थ्यकर्मी दीपक शाहका अनुसार निर्माण कम्पनीले तीन करोडभन्दा बढी भुक्तानी लिइसके पनि अस्पताल निर्माणको अवस्था अत्यन्त कमजोर छ । भवन निर्माणको काम छिटो अघि बढाउन नगरपालिकालाई पटकपटक आग्रह गरे पनि अपेक्षित प्रगति हुन नसकेको उनले बताए ।
बूढीगङ्गासँगै ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण सुरु भएका जिल्लाका गौमुल र जगन्नाथ गाउँपालिकाका अस्पताल भने निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।




प्रतिक्रिया