काठमाडौं, साउन २७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा.कमलप्रसाद पोख्रेलले राजीनामा दिएका छन् ।
उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिसकेको मन्त्रीले जनाए । साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि एक वर्ष बढी बाँकी थियो। उनी राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुखबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका थिए ।
त्यस्तै, आगामी भदौ ४ मा अनिवार्य अवकाशमा जान लागेका सचिव बावुराम अधिकारीले समेत पदबाट राजीनामा दिएका छन्। बागमती प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा एकाएक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। अनिवार्य अवकाशको दुई साता अगावै उनी राजीनामा दिएर हिडेका हुन । यसअघि राजीनामा दिनेमा सहसचिवसम्म मात्र दिए।
सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धामाधम राजीनामा बुझाइएर हिड्न थालेका छन्। राष्ट्रिय किताबखानाको रेकर्ड अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएर हिडेका छन् ।




प्रतिक्रिया