काठमाडौँ । स्वतन्त्र नागरिक अभियानले प्रतिनिधिसभाको कार्यसम्पादन र संसदीय गतिविधिलाई प्रभावकारी, चुस्त एवम् परिणाममुखी बनाउन माग गर्दै सभामुख डीपी अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
अभियानका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेको प्रतिनिधिमण्डलले सदनको प्रभावकारिता र जनसरोकारका विषयमा विशेष जोड दिँदै ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
भेटमा अध्यक्ष धमलाले जनताका जीवन्त सवाल उठाउने प्रमुख थलो सदन नै भएकाले यसका कामकारबाहीलाई थप सशक्त र नतिजामुखी बनाउनुपर्ने बताए।
जवाफमा सभामुख अर्यालले सर्वोच्च जनप्रतिनिधिमूलक संस्था सदनलाई जनताका मुद्दामा पूर्ण रूपमा केन्द्रित गराउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। सभामुख अर्यालका अनुसार यसै वर्षभित्र १६५ वटा अत्यावश्यक कानुन निर्माण गर्ने लक्ष्य राखिएको छ।
‘अहिलेको सदनमा अधिकांश युवा सांसदको उपस्थिति छ,’ सभामुख अर्यालले भने, ‘उहाँहरूको नयाँ सोच, ऊर्जा र चाहनाअनुसार नै सदनलाई अघि बढाउनेछौँ। सांसदहरू स्वयं पनि सदन र जनताप्रति पूर्ण रूपमा जिम्मेवार हुनुपर्छ। जथाभावी बोल्नुभन्दा मर्यादित र विषयवस्तुमा आधारित भएर प्रस्तुत हुन आवश्यक छ।’
सबै राजनीतिक दल र सांसदहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै सदन सञ्चालन गर्ने स्पष्ट पार्दै सभामुखले संसदीय गरिमा कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको बताए।
यसैबीच, सांसद खगेन्द्र सुनारसँग जोडिएको पछिल्लो घटनाक्रम र विवादबारे पनि सभामुख अर्याल र अध्यक्ष धमलाबीच कुराकानी भएको छ । त्यस क्रममा सभामुखले सार्वजनिक लेखा समितिका सभापति भरत खड्कालाई बोलाएर यसबारे सोधपुछ तथा आवश्यक छलफल गरिसकेको जानकारी दिए।
आरोप–प्रत्यारोपमा उत्रिएर समस्या बढाउनुभन्दा संवादका माध्यमबाट तत्काल निकास निकाल्नुपर्नेमा जोड दिँदै सभामुखले समस्या चाँडै सल्टिने विश्वास दिलाए। सांसदहरूलाई थप जिम्मेवार र अनुशासित बनाउन संसदीय अभ्यास र मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपाल प्रहरीमा पोशाक तथा सामान खरिदमा अनियमितता भएको विषयलाई लिएर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा तीव्र विवाद भएको थियो। समिति सभापति खड्काले पनि सांसदहरूलाई समितिको मर्यादा र शिष्टता कायम राख्न निर्देशन दिइसकेको सभामुखले अध्यक्ष धमलालाई बताएका छन् ।







प्रतिक्रिया