काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज राजधानीमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा अहिले बिहान ११ः३० बजे सुरु हुने भेलामा निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
इतर समूहले आयोजना गरेको तीन दिने भेलामा कांग्रेसको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल हुने जनाइएको छ । भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रका क्रममा विभिन्न विषयमा छलफल गरेर नयाँ नीति तथा कार्यक्रम निर्धारण गर्ने तयारी गरिएको छ।
आयोजकका अनुसार भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा थप उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि उनी बिहीबार स्वदेश फर्किएका छन्।
नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इतर समूहका नेता तथा कार्यकर्ताले देउवालाई बाजागाजासहित स्वागत गरेका थिए। विमानस्थलबाट उनलाई सोझै चुनदेवी कार्यालय लगिएको थियो।
त्यहाँ कार्यकक्षको बाहिरी भाग र चेम्बरभित्र देउवाको नामअगाडि ‘सभापति’ उल्लेख गरिएको बोर्ड राखिएको छ। इतर समूहले काठमाडौंमा आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा उक्त बोर्ड राखिएको हो।
भेलाको संयोजक पूर्वमहामन्त्री डा। शशांक कोइराला रहेका छन्। सर्वोच्च अदालतले हालैमात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ।




प्रतिक्रिया