सुदूरपश्चिममा खगराजको उदय: राजनीतिक अस्थिरताबीच सुशासन र आशाको नयाँ बिहानी


काठमाडौँ । लामो समयदेखि राजनीतिक दाउपेच, सत्ताको खिचातानी र मन्त्रीमण्डल फेरबदलको निरन्तर घेराबन्दीमा परेको सुदूरपश्चिम प्रदेशले अन्ततः एक परिपक्व, वैचारिक रूपमा दृढ र शालीन नेतृत्व पाएको छ। राजनीतिक अस्थिरताले नागरिकमा निराशा छाइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुनु एउटा सत्ता समीकरणको निरन्तरता मात्र होइन, सुदूरपश्चिमको विकास र सुशासनका लागि एउटा नवीन आशाको सञ्चार पनि हो।

नेकपा एमाले र नेकपाको नयाँ समीकरणबाट प्रदेश प्रमुख नजिर मियाँद्वारा संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका भट्टको आगमनलाई सुदूरपश्चिमका नागरिकले सकारात्मकताका साथ हेरेका छन्।

खगराज भट्ट सुदूरपश्चिमको राजनीतिमा कुनै नयाँ नाम होइनन्। २०३१ सालमा डडेल्धुराको अजयमेरुमा जन्मिएका भट्टले आफ्नो जीवनको ठूलो हिस्सा परिवर्तन र लोकतान्त्रिक आन्दोलनमा समर्पण गरेका छन्। २०५० सालदेखि पूर्णकालीन राजनीतिमा होमिएका उनी, जनयुद्धका कठिन दिनहरूमा कठोर जेलयातना र भूमिगत जीवन बिताउँदै नेतृत्व सम्हाल्न आइपुगेका निष्ठावान् योद्धा हुन्।

भट्टको सम्पूर्ण परिवार नै आन्दोलन र जनसेवामा समर्पित रहँदै आएको छ। उनी सरल, सादगी र कार्यकर्ता माझ लोकप्रिय नेताका रूपमा परिचित छन्।

राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पटक-पटक प्रतिस्पर्धा गर्दा पनि कहिल्यै विचलित नभएका भट्टले २०७९ को प्रदेशसभा निर्वाचनमा जित दर्ता गर्दै आफ्नो जनआधार पुष्टि गरेका थिए। ढिलै भए पनि सही व्यक्तिले सुदूरपश्चिमको बागडोर सम्हाल्ने अवसर पाएको छ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले दिएको अभिव्यक्तिले उनको राजनीतिक परिपक्वता र गम्भीरतालाई झल्काउँछ। “म खुसी छु, तर खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको अनुभव गरेको छु,” भन्ने उनको भनाइले उनी सत्ताको उन्मादमा होइन, दायित्वको गम्भीरतामा छन् भन्ने स्पष्ट पार्छ।

सुदूरपश्चिममा प्रदेश संरचनामाथि उठेका प्रश्नहरूलाई कामबाटै जबाफ दिने उनको अठोट प्रशंसनीय छ। मुख्यमन्त्री भट्टले औँल्याएका केही मुख्य प्राथमिकताहरू यस्ता छन्:

  • सुशासन र बेथितिको अन्त्य: प्रदेशमा संस्थागत सुशासन कायम गर्दै विगतका बेथितिहरूलाई सुधार गर्ने उनको पहिलो प्राथमिकता रहेको छ।
  • सङ्घीयताको औचित्य पुष्टि: प्रदेश सरकारले गरेका पूर्वाधार, शिक्षा र सिँचाइका कामहरूलाई नागरिकसम्म स्पष्टरूपमा पुर्‍याउँदै सङ्घीयताप्रतिको विश्वास जगाउने,
  • राजधानी कार्यान्वयन र रूपान्तरणकारी विकास: पहिलो कार्यकालदेखि रोकिएको प्रदेश राजधानी कार्यान्वयनलाई अगाडि बढाउने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने।

विगतमा सरकारहरू ढल्ने र बन्ने निरन्तरको खेलले सुदूरपश्चिमको बजेट र विकास निर्माण ठप्पप्रायः बनेको थियो। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि एमाले र नेकपाको बलियो जगमा बनेको यो सरकारसँग काम गरेर देखाउने स्पष्ट जनमत र अवसर दुवै छ।

खगराज भट्टजस्ता वैचारिक रूपमा परिपक्व, निष्कलङ्क र प्रदेशको समस्यालाई नजिकबाट बुझेका नेता मुख्यमन्त्री हुनु सुदूरपश्चिमका लागि सुखद् संयोग हो। राजनीतिक उथलपुथलबाट आजित बनेका सुदूरपश्चिमेली जनताका लागि भट्टको नेतृत्व एउटा शीतल छहारी बन्न सक्छ।

अब मुख्यमन्त्री भट्टको काँधमा मन्त्रिमण्डललाई सन्तुलित ढङ्गले अगाडि बढाउने, सुशासन कायम गर्ने र ‘समृद्ध सुदूरपश्चिम’ को सपनालाई मूर्तरूप दिने ऐतिहासिक जिम्मेवारी आएको छ। निष्ठाको राजनीति गर्दै यहाँसम्म आइपुगेका भट्टले सुदूरपश्चिमको मुहार फेर्ने यात्रामा नयाँ कीर्तिमान कायम गर्नेछन् भन्ने अपेक्षा र विश्वास गर्न सकिन्छ।

Skip This