काठमाडौं, भदौ २ । सहकारी तथा लघुवित्त पीडितसँग सरकारले आज वार्ता गर्ने भएको छ। पीडितका माग सम्बोधनका लागि वार्ताको वातावरण बनाउन स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक तथा वरिष्ठ पत्रकार ऋषि धमलाले निरन्तर पहल गरेपछि सरकारले वार्ताका लागि समिति गठन गरेको हो।
राष्ट्रिय मानवअधिकार आयोगअगाडि धर्नामा बसेका सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै धमला केही दिनअघि धर्नास्थलमै पुगेका थिए। त्यसयता पीडितका समस्या समाधानका लागि उनले सरकारका सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल गर्दै आएका थिए।
पीडितको माग सरकारसम्म पुर्याउन धमला २४ घण्टाजसो सक्रिय रहँदै आएका थिए । पीडितहरू वर्षामा भिज्दै धर्नामा बसेको, केही बिरामी भएर अस्पताल भर्ना हुनुपरेको अवस्थासमेत देखेपछि धमलाले तत्काल वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई दबाब दिँदै आएका थिए।
धमलाको निरन्तर पहल र दबाबपछि सरकारले पीडितहरूसँग औपचारिक वार्ता गर्न समिति गठन गरेको हो। उक्त समितिले आज आन्दोलनरत पीडित प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको स्रोतले बतायो ।
धमलाले पीडितहरूको समस्या सडक आन्दोलनबाट मात्र नभई सरकार र पीडितबीच प्रत्यक्ष संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन्। उनले पीडितहरूको बचत फिर्ता, ऋण तथा ब्याजसम्बन्धी समस्या, ठगीमा संलग्नमाथि कारबाही र न्यायको सुनिश्चितताका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगअगाडि धर्नामा बसेका पीडितहरूले पनि आफूहरूको माग सम्बोधन हुनेगरी ठोस निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्। लामो समयदेखि आन्दोलनमा रहेका पीडितहरू सरकारसँग हुने वार्ताले समस्या समाधानको बाटो खोल्ने अपेक्षामा छन्।




प्रतिक्रिया