भदौ २३ गते ‘जेनजी’ आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीको सम्बोधन माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले आगामी भदौ २३ गते ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद खतिवडाले उक्त आन्दोलनमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराइन् ।

उनले सो दिन प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको बताइन् । उनले भनिन्, ‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र शहीद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन् ।’