प्रतिनिधि सभा बैठकबाट रिसाएर हिँडिन् आशिका


काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेकी छन् ।

कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नपाएको भन्दै उनी बैठक कक्षबाट बाहिरिएकी हुन् ।

पराष्ट्रमन्त्रीले जवाफ दिँदा दिँदै सांसद तामाङले उठेर प्रश्न सोध्न पाउनुपर्ने अडान राखेकी थिइन् । तर, सभामुखले बोल्न समय दिएनन् ।

सभामुखले भने, ‘मैले बोल्न समय दिएको छैन, बस्नुस् ।’

तर उनले आफूले बोल्न पाउनुपर्ने अडान राखिन् । त्यति गर्दा पनि नरोकिएपछि सभामुखले सांसद तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिए । सभामुखको निर्देशनपछि उनी झोला टिपेर झोंकिँदै बैठक छाडेर हिँडिन् ।