काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९.२८८ किलोग्राम थाइ गाँजासहित आठ जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको टोलीले साउन ३१ गते राती उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडान नम्बर टीजी३१९ मार्फत आएका म्यानमारका पाँच जना नागरिक रहेका छन्। जसमा म्यानमार क्यौक्टान ठेगाना भएका २३ वर्षीय जार नि लिन, दावेई ठेगाना भएका २६ वर्षीया एल एल थवे, क्याङ्गीन ठेगाना भएका ३९ वर्षीय आउङ बवार, मोलम्येन ठेगाना भएका ३२ वर्षीय चुवे म्याथवाल सेइन र याङ्गुन ठेगाना भएका ३२ वर्षीय जिन मियो अउङ रहेका छन्।
विदेशबाट हवाई मार्ग हुँदै उच्च स्तरको गाँजा नेपाल भित्र्याउने तस्करहरूको ुप्रोफाइलिङु गर्ने क्रममा चेकजाँच गर्दा उनीहरूको लगेजबाट सो परिमाणको गाँजा बरामद भएको हो।
यसैगरी, फुकेटबाट बाटिक एयरको उडान नम्बर ओडी५४१ मार्फत नेपाल आएका भारतको पञ्जाब ठेगाना भएका तीन जना नागरिक पनि पक्राउ परेका छन्। पक्राउ पर्ने भारतीय नागरिकहरूमा २३ वर्षीय कुशदीप, ३२ वर्षीय गुर्दीप सिंह र २६ वर्षीया कामिनी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३९.२८८ किलोग्राम थाइ गाँजाका साथै आठ थान पासपोर्ट र आठ थान मोबाइल समेत बरामद गरेको छ। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया