सिद्धार्थ राजमार्गमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध


काठमाडौं, भदौ ३ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडकमा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको छ ।

घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटाइएको छ । टोलीले सडक खुलाउने पहल गरिरहेको प्रहरीले जनाएको छ ।

पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउने काम सुरु गर्न सकिएको छैन । पहिरो खस्न रोकिएलगत्तै जेसीबी प्रयोग गरी सडक खुलाउने तयारी गरिएको छ । उक्त स्थान प्रहरी चौकी दोभानबाट करिब एक किलोमिटर दक्षिणमा पर्छ ।