काठमाडौं। सरकारले सर्वसाधारण र उद्योगीहरूका लागि बिजुलीको महसुल दर घटाउने गृहकार्य तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते गठित समितिले महसुल पुनरावलोकनका लागि औपचारिक छलफल सुरु गरेको हो।
नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जाविज्ञ, उपभोक्ता अधिकारकर्मी र वित्तविज्ञहरूको सहभागिता छ।
वर्षायाममा उत्पादित बिजुली बढी भई खेर जाँदा प्राधिकरणले ठूलो मासिक नोक्सानी व्यहोर्नु परिरहेको छ। यही अवस्थालाई ध्यानमा राख्दै आन्तरिक खपत बढाउन ‘सिजनल ट्यारिफ’मार्फत महसुल घटाउने तयारी गरिएको हो।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारण उपभोक्ताका साथै उद्योगहरूले पनि सहुलियत दरमा बिजुली पाउनेछन्। वर्षायाममा सस्तो बिजुली उपलब्ध गराउँदा उद्योगहरूले आफ्ना उत्पादनको मूल्य कतिसम्म घटाउन सक्छन् भन्ने विषयमा पनि महासंघ र सरोकारवालाहरूसँग आवश्यक समन्वय भइरहेको छ।
मन्त्रालयमा बस्ने समितिको बैठकले सिजनल ट्यारिफको मोडेल र दर निर्धारण गरी छिट्टै अन्तिम निर्णय लिने जनाइएको छ।




प्रतिक्रिया