आलमगीर राष्ट्रपति बन्ने सम्भावना


ढाका, ४ भदौ । बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि देशको २३औँ राष्ट्रपति बन्ने सम्भावना छ ।

अठहत्तर वर्षीय आलमगीरले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको राष्ट्रपतिका लागि दिउँसो हुने मतदानमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ । उनले मङ्गलबार आफूले राष्ट्रपतिको जिम्मेवारी पाउने कहिल्यै नसोचेको बताउँदै यसलाई पार्टी र सर्वशक्तिमान् अल्लाहको कृपाका रूपमा लिएको थियो ।

उहाँले राष्ट्रपति बनेपछि पनि जनताको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सन् २०२४ को जनआन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएपछि भएको पहिलो आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बिएनपीले गत फेब्रुअरीमा ठूलो विजय हासिल गरेको थियो । त्यसपछि हसिनाका निकट सहयोगीका रूपमा चिनिएका पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

छयत्तर वर्षीय साहाबुद्दिनले खराब स्वास्थ्यलाई कारण देखाउँदै जुलाईमा राजीनामा दिएको थियो । उनी सन् २०२३ मा राष्ट्रपतिमा निर्वाचित भएको थियो र सन् २०२८ को अन्त्यसम्म कार्यकाल बाँकी थियो ।

हसिना अहिले भारतमा बस्दै आएको छ । उनले ढाकामा आफूविरुद्ध चलेको मुद्दामा उपस्थित हुन अस्वीकार गरेको थियो । गत नोभेम्बरमा अदालतले उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । अधिकारवादी संस्थाहरूले हसिना नेतृत्वको सरकारमाथि विपक्षीको हत्या, राजनीतिक दमन, न्यायिक प्रक्रियामा हस्तक्षेप र एकतर्फी निर्वाचनलगायतका आरोप लगाउँदै आएका थिए ।

आलमगीरको प्रतिस्पर्धा जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ओली अहमदसँग हुँदैछ । संसद्मा मतदान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे सुरु हुने अपेक्षा गरिएको छ ।

– लामो राजनीतिक यात्रा –

२६ जनवरी १९४८ मा जन्मिएका आलमगीरले ढाका विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेको थियो । सन् १९६९ मा पाकिस्तानको सैन्य शासनविरुद्ध भएको आन्दोलनमा उनी प्रमुख विद्यार्थी नेतामध्ये एक थिए । उक्त आन्दोलन सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र हुने दिशाको महत्त्वपूर्ण आधार बनेको थियो ।

अर्थशास्त्र अध्यापनपछि उनी सरकारी सेवामा प्रवेश गरे । त्यसपछि कृषि, उड्डयन तथा पर्यटनमन्त्रीलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिमा प्रवेश गरे ।

हसिनाको लामो शासनकालमा उनी प्रमुख विपक्षी नेताका रूपमा स्थापित भएको थियो । त्यतिबेला बिएनपी अध्यक्ष खालिदा जिया जेलमा थिए भने उनका छोरा तारिक रहमान निर्वासनमा थिए । राजनीतिक प्रतिशोधबाट प्रेरित आरोप भन्दै आलमगीरलाई हसिना सरकारका पालामा पटकपटक पक्राउ गरिएको थियो ।

बिएसएसका अनुसार कठिन राजनीतिक परिस्थितिमा बिएनपीलाई सङ्गठित राख्न र पार्टीको राजनीतिक उपस्थिति कायम राख्न आलमगीरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

आलमगीरको विवाह सेवानिवृत्त वित्तीय अधिकारी राहत आरा बेगमसँग भएको छ । उनीहरूका दुई छोरी छन् । रासस