नाबालिका हत्याको विरोधमा जीतपुर-सिमरा अशान्त : सडक ठप्प, सिमरा प्रहरी कार्यालय घेराउ


बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा बाराको जीतपुर-सिमरा उपमहानगरपालिकामा आन्दोलन चर्किएको छ। दोषीलाई कडा कारबाही र प्रहरी प्रशासनको लापरबाहीमाथि छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले बिहीबार मुख्य तथा ग्रामीण सडकहरूमा टायर बालेर यातायात पूर्ण रूपमा ठप्प पारेका हुन्।

घटनाको विरोधमा उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरूले शोकसभा आयोजना गर्दै पठनपाठन बन्द गरेका छन्। बालिका हराएको सूचना पाउँदा पनि प्रहरीले खोजी कार्यमा गम्भीरता नदेखाएको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा घेराउसमेत गरेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालयका इन्चार्जलाई कारबाही गर्न माग गरेका छन्।

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर र पथलैया–सिमरा सडकखण्डमा सवारी साधन चलेका छैनन् भने वीरगञ्ज–पथलैया सडक खण्डसमेत प्रभावित बनेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनामा संलग्न आरोपितलाई पक्राउ गरिसकिएको जानकारी दिँदै आन्दोलनरत पक्षसँग निर्णायक वार्ताको प्रयास भइरहेको बताएका छन्। प्रहरीको भूमिकाबारे उठेका प्रश्नमाथि छानबिन भइरहेको जनाउँदै प्रशासनले संयम अपनाउन आग्रह गरेको छ।