‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’


कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह कार्यक्रम’ मा उनले सबैको साझा सोच, प्रयासले मात्र यस प्रदेशको समृद्धि सम्भव छ भने । उनले कर्णालीको उन्नतिका निम्ति प्रदेश सरकारले सुशासन, जवाफदेहिता र पारदर्शितामा ध्यान दिनुपर्ने सुझाए ।

प्रमुख जोशीले भने, “भ्रष्टाचाररहित र शून्य सहनशीलताको प्रदेश निर्माणका लागि सरकारले आफ्नो सक्षमता देखाउनुपर्दछ । कर्णाली प्रदेशको विकास, समृद्धि र उन्नतिको लागि सबै दल जिम्मेवार हुनुपर्ने हुनुपर्छ ।” मनसुनजन्य विपद् अँझै बाँकी भएको बताउँदै उनले सर्वपक्षीय संयन्त्र बनाएर जाजरकोटका पीडितहरूको घरदैलोमा पुगेर सरकार भएको अनुभूति दिलाउनुपर्नेमा जोड दिए ।

प्रचुर संभावना भएको कर्णालीलाई गरिबीको आँखाबाट हेरिनु ठूलो कमजोरी भएको जिकिर गर्दै उनले दैलेखको ग्यासले मुलुककै समृद्धि र विकासमा सहयोग पुग्ने दीर्घकालीन महत्त्वको आयोजना दुई वर्षदेखि काम बन्द हुनु दुःखद् विषय भएको टिप्पणी गरे ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीका जनताको त्याग, समर्पण र बलिदानबाट स्थापित प्रदेशको विकासले सिङ्गो मुलुकको रूपान्तरणमा सघाउने बताए । कर्णाली प्रदेश स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदप्रति सम्मान अर्पण गर्दै उनले मुलुक सङघीयतामा जाँदै गर्दा कर्णालीले आफ्नै बलबर्कतमा आफ्नो पहिचान र अस्तित्व कायमा गरेको तर्क गरे ।

सभामुख नन्दा गुरुङले नेपालको संविधान, सङ्घीयता, समावेशिताले कर्णालीजस्ता उत्पीडित एवं उपेक्षित भूगोल, क्षेत्रलाई न्याय गरेको बताए । मूलतः कर्णालीका जनताले जीवन बलिदान दिएर जन्माएको प्रदेशको विकास र यहाँका नागरिकको जीवनस्तर उन्नतिका लागि सङ्घ सरकारले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले मुलुकको सबैभन्दा ठूलो भूगोल ओगटेको कर्णालीको विकास र समृद्धि विना मुलुकको समृद्धि असम्भव भएको बताए । यहाँको विकासका लागि प्रदेश सरकार, दल तथा सरोकारवाला सबै निकाय, क्षेत्र र सङ्घ सरकारको समन्वय तथा सहकार्य आवश्यक भएको बताउँदै उनले कर्णालीको स्रोत, साधनको भरपुर उपयोग गर्ने सामथ्र्य सरकारले राख्नुपर्ने औँल्याए ।

समारोहमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले स्वागत गर्दै सहिदले देखाएको मार्गलाई पछ्याएर सरकार अगाडि बढ्ने बताए । आर्थिक मामिलालमन्त्री टेकराज पछाई, जलस्रोतमन्त्री कलबहादुर हमाल, प्रदेशसभा सदस्य, न्यायधीश, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, सहिद परिवार, कर्मचारी, पत्रकार सञ्चारकर्मी, कलाकर्मीहरूको सहभागिता रहेको थियो ।