काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गर्दै राजनीतिक नेतृत्वमा देखिएको पदप्रतिको तीव्र मोहमाथि कडा कटाक्ष गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पटक-पटक उच्च राजनीतिक जिम्मेवारी सम्हालिसकेका शीर्ष नेताहरू थप पद नपाउँदा असन्तुष्ट हुने गरेको बताए। नेपाली राजनीतिमा विचार र जनसेवाभन्दा राजकीय पद प्राप्तिको होडबाजी प्राथमिक बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।
‘पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ। दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ,’ शीर्ष नेतृत्वको प्रवृत्तितर्फ संकेत गर्दै थापाले भने, ‘हामी हेर्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ।’
राजनीति क्रमशः पद र शक्तिमा केन्द्रित हुँदै गएकाले यो प्रवृत्तिमाथि गम्भीर पुनर्विचार आवश्यक रहेको उनले औँल्याए। राजनीतिक नेतृत्वले आफ्नो व्यक्तिगत आकांक्षाभन्दा जनताका अपेक्षा र देशका आवश्यकतालाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।
जिम्मेवारी पाइसकेका नेताहरूले थप पदका लागि असन्तुष्टि पोख्ने परिपाटीले राजनीतिप्रतिको जनविश्वास घट्दै गएको थापाले बताए। सभापति थापाको यो अभिव्यक्तिलाई नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन र भावी कार्यदिशाबारे चलिरहेको आन्तरिक बहससँग जोडेर हेरिएको छ।




प्रतिक्रिया