अस्ट्रेलियामा बेरोजगारी बढ्यो


क्यानबेरा, ४ भदौ । अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या १५ हजार ८०० ले घट्दा बेरोजगारको सङ्ख्या चार हजार २०० ले बढेको छ । जुलाईको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि उच्चमध्ये एक हो ।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार जुलाईमा पुरुषको रोजगारी ११ हजार र महिलाको पाँच हजारले घटेको छ । आंशिक समय काम गर्ने महिलाको सङ्ख्या २२ हजारले घटे पनि पूर्ण समय काम गर्ने महिलाको सङ्ख्या १७ हजारले बढेको उनले बताए ।

यस अवधिमा कुल काम गर्ने समय शून्य दशमलव छ प्रतिशतले घटेर एक अर्ब ९९ करोड घण्टामा झरेको छ । रोजगारीमा रहेका वा काम खोजिरहेका काम गर्ने उमेर समूहको सहभागिता दर पनि जुनको ६७ प्रतिशतबाट घटेर जुलाईमा ६६.९ प्रतिशतमा पुगेको एबीएसले जनाएको छ । रासस