नामी क्लाइमेट-एआई लन्चप्याड सम्पन्न: तीन स्टार्टअपलाई सिड ग्रान्ट, १३० सरोकारवालाको ऐक्यबद्धता


काठमाडौँ । नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गर्दै युवाहरू नवप्रवर्तनतर्फ अग्रसर भएका छन्। ‘नामी कलेज’को वित्तीय सहयोग तथा ‘स्टार्टअप डिस्कभरी एसिया’ (एसडीए) को कार्यान्वयनमा सञ्चालित छ महिने ‘नामी क्लाइमेट-एआई भेन्चर बिल्डर प्रोग्राम’ (NAMI Climate AI Venture Builder Programme) को औपचारिक समापनसँगै नेपाली युवाहरूले प्रविधि र जलवायुको क्षेत्रमा नयाँ मानक स्थापित गरेका हुन्।

गत २७ साउन (१२ अगस्ट २०२६) मा ललितपुरमा आयोजित ‘नामी क्लाइमेट-एआई लन्चप्याड’ (Demo Day) मा नौवटा फाइनालिस्ट टोलीले जलवायु सङ्कट समाधानका लागि आफूले तयार पारेका एआई-सक्षम प्रविधि तथा व्यावसायिक योजनाहरूको प्रत्यक्ष प्रस्तुति दिएका छन्।

गत फेब्रुअरी महिनामा कम्प्युटर साइन्स, बीबीए र वातावरणीय विज्ञान (Environmental Science) अध्ययनरत विद्यार्थीहरूलाई समेटेर यो कार्यक्रम सुरु गरिएको थियो। छ महिनाको अवधिमा विद्यार्थीहरूले गहन समस्या पहिचान, अवधारणा विकास, एआई एकीकरण, प्रोटोटाइप निर्माण र प्रारम्भिक इन्क्युबेशनको पूर्ण चक्र पार गरेका छन्।

कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई प्रयोगशाला हुँदै व्यावहारिक उद्यममा ढाल्न सफल १४ जना युवा संस्थापकहरूले नौवटा नवप्रवर्द्धनात्मक उद्यम सञ्चालनमा ल्याएका छन्। यस कार्यक्रमले एआईको प्रयोग इमेल वा सामान्य फ्रेमवर्क लेखनमा मात्र सीमित नभई जलवायु चुनौतीको समाधानमा कसरी गर्न सकिन्छ भन्ने नवीन दिशा देखाएको छ।

कार्यक्रममा उत्कृष्ट व्यावसायिक मोडल तथा प्राविधिक समाधान प्रस्तुत गर्ने तीनवटा स्टार्टअप टोलीलाई बजारयोग्य समाधान तयार पार्न प्रोत्साहनस्वरूप रु. १-१ लाखको सिड ग्रान्ट (Seed Grant) प्रदान गरिएको छ: जसमा-

  • रक्षा (Raksha): स्केल फर इम्प्याक्ट अवार्ड (Scale for Impact Award)
  • ग्रिडफ्लक्स (Gridflux): मस्ट इनोभेटिभ युज अफ एआई अवार्ड (Most Innovative Use of AI Award)
  • ल्होता रिसाइक्लेबल्स (Lhota Recyclables): मस्ट इन्भेस्टेबल अवार्ड (Most Investable Award), रहेका छन् ।

उक्त लन्चप्याड कार्यक्रममा शिक्षा क्षेत्र, विकास नियोग, भेन्चर क्यापिटल, बैंक तथा वित्तीय संस्था, उद्यमी र प्रविधिविज्ञ गरी १३० भन्दा बढी सरोकारवालाहरूको उपस्थिति र ऐक्यबद्धता रहेको थियो। यस मञ्चले लगानीकर्ता, जलवायु विज्ञ र युवा नवप्रवर्तकहरूबीच खुला संवाद र सहकार्यको वातावरण सिर्जना गरेको छ।

नामी कलेज र स्टार्टअप डिस्कभरी एसियाको सहकार्यमा सञ्चालित यस अभियानमा ५ जना मेन्टर, ६ जना सहजकर्ता, ३ जना सल्लाहकार समिति सदस्य, ११ जना स्वयंसेवक तथा ६ जना प्राविधिक प्रशिक्षकहरूले मार्गदर्शन गरेका थिए। विद्यार्थीको रूपमा सुरु भएको यो यात्राले युवाहरूलाई उद्यमीका रूपमा स्थापित गर्दै नेपालमा ‘क्लाइमेट+एआई’ नवप्रवर्तन, रोजगारी सिर्जना र भविष्यका नेतृत्वकर्ता निर्माणमा महत्त्वपूर्ण जग बसालेको छ।