तीन वर्षीया गरिमाको बलात्कारपछि डोरीले बाँधेर हत्या, सरकार बेखबर…




बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सिंगो देशलाई स्तब्ध बनाएको छ। अबोध बालिकामाथि भएको यो जघन्य अपराधविरुद्ध स्थानीयदेखि सडक हुँदै सदनसम्म आवाज उठेको छ ।


यसैबीच स्वतन्त्र नागरिक अभियानका संयोजक तथा वरिष्ठ पत्रकार ऋषि धमला पीडित परिवारको आवाज सुन्न र न्यायको पक्षमा उभिन घटनास्थल बारा पुगेका छन्।


जीतपुर–सिमरा उपमहानगरपालिका–१ स्थित दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया गरिमा आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन्। तीन दिनपछि मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढा रहेको खाली घरमा कपडामा पोको पारिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।


अबोध बालिकामाथि भएको यो घटनाले स्थानीयलाई आक्रोशित बनाएको छ। घटनापछि स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय सिमराको अनुसन्धानप्रति समेत प्रश्न उठाउँदै नेतृत्व परिवर्तनको माग राखेका छन्। विरोधका कारण वीरगञ्ज–पथलैया सडकखण्डसमेत अवरुद्ध छ।


घटनास्थल पुगेका धमलाले गरिमाको हत्या कुनै एक परिवारको मात्र पीडा नभएको भन्दै यो घटनाले हरेक नेपालीको मन दुखाएको बताए। ‘तीन वर्षकी अबोध बालिकामाथि यस्तो जघन्य अपराध भएको छ। गरिमाको पीडाले तीन करोड नेपालीको मन रोएको छ,’ धमलाले भावुक हुँदै भने, ‘म तपाईंहरूलाई न्याय दिलाउन यहाँ आएको हुँ। कसैसामु झुक्दिनँ। निष्पक्ष अनुसन्धान हुनुपर्छ, दोषीमाथि कडा कारबाही हुनुपर्छ।’


धमलाले आवश्यक परे कानुन संशोधन गरेर भए पनि यस्ता जघन्य अपराधमा कठोर सजायको व्यवस्था गर्नुपर्ने माग गरे। उनले बालिका गरिमाको परिवारले न्याय पाउनुपर्ने र दोषी कुनै पनि हालतमा उम्कन नहुने बताए।

गृहमन्त्री सुधन गुरुङलाई घटनास्थलमै आउन आग्रह गर्दै धमलाले भने, ‘गृहमन्त्रीज्यू, यहाँ आउनुस्। पीडित परिवारको चित्कार र रोदन सुन्नुस्। यस्ता अपराध दोहोरिन नदिन राज्यले कठोर कदम चाल्नुपर्छ।’


प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुर–सिमरा उपमहानगरपालिका–२ का सुमन थापा र वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरी छन्।

प्रहरीका अनुसार सहचालक थापाले बालिकामाथि बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। घटनास्थलमा अनुसन्धानका क्रममा कुकुरसहितको टोली पुगेपछि थापालाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। चालक चौधरीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।


प्रहरीका अनुसार बालिका हराएपछि खोजीमा सहयोग गरिरहेका थापा नै पछि अनुसन्धानका क्रममा पक्राउ परेका हुन्। बालिका हराएको पहिलो दिनदेखि नै खोजतलास गरिए पनि उनको हत्या भएको आशंका तत्काल हुन नसकेको प्रहरीले जनाएको छ।


थापाले प्रहरीसँगको बयानमा बलात्कारपछि बालिका बेहोस भएको र आफू त्यहाँबाट फर्किएर पुन: चालक चौधरीको घरमै आएको प्रहरीसमक्ष बताएका छन् ।

प्रहरीका अनुसार बलात्कारपछि बेहोस भएका बालिकालाई उनले झुण्ड्याएर हत्या गरेका थिए । चालकको घरमा फर्किएका सुमनले दिउँसो करिब ४ घण्टापछि फेरी गएर बालिकालाई कपडामा पोको पारेका थिए । बलात्कारपछि आफू नुहाएको र पछि गएर शव व्यवस्थापन गरेको प्रहरीलाई उनले बताए ।


घटना भएको ४ दिन बित्दासमेत सरकारले कुनै चासो नदिएको स्थानीयले आरोप लगाएको छ । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङप्रती घटनामा ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।