काठमाडौ । संसदीय सुनुवाइ समितिमा नेपाली सेना तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिको उजुरी परेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त उजुरी आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोधनारायण श्रेष्ठले सेना र राष्ट्रिय सुरक्षासँग जोडिएको उजुरी प्राप्त भएको जानकारी दिए।
उजुरी रक्षा मन्त्रालय वा गृह मन्त्रालयमध्ये कुनसँग बढी सम्बन्धित छ भन्ने विषयमा अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी समितिको सचिवालयलाई दिइएको उनले बताए। समितिमा प्राप्त उजुरी तथा सुनुवाइ प्रक्रियाका क्रममा उठेका विभिन्न प्रश्नबारे समेत बैठकमा छलफल भएको थियो।
प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा माग गरिएका सूचना तथा विवरणका विषयमा समितिले आवश्यक स्पष्टता दिएको सभापति श्रेष्ठले जानकारी दिए। सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण तथा रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले आवश्यक जानकारी रेकर्डबाटै लिन सक्ने समितिको निष्कर्ष छ।
यसैगरी, समितिका सदस्यहरूले व्यक्तिगत रूपमा गर्ने अध्ययन तथा तयारी नितान्त निजी विषय भएकाले त्यसको विवरण सार्वजनिक गरिरहन आवश्यक नरहेको बैठकले स्पष्ट पारेको छ। सूचनाको हकसम्बन्धी विषयमा भने प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने सभापति श्रेष्ठले बताए।
बैठकले आगामी १८ र १९ गते समितिका सदस्यहरूका लागि आयोजना हुने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ। सेना तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित उजुरीलाई संवेदनशील रूपमा लिइएको र त्यसको प्रकृति तथा सम्बन्धित निकायबारे अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।




प्रतिक्रिया