गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु



गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–७, कुडापानीकी ५५ वर्षीया कमला पाण्डे छिन् ।

बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको थियो । उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । पाण्डे स्थानीय निउरेनी जंगलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएकी थिइन् ।

घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सातजनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो । रासस