संविधान संशोधन गरेर भएपनी गरिमाका हत्यारालाई मृत्युदण्ड दिनुपर्छ : ऋषि धमला




काठमाडौँ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गर्दै वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियानका संयोजक ऋषि धमला आक्रोशित भएका छन्।

गरिमालाई न्यायको माग गर्दै शनिबार काठमाडौँको शान्तिवाटिकामा आयोजित प्रदर्शनमा सहभागी हुँदै धमलाले यस्तो जघन्य अपराधमा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए।

कार्यक्रमलाई सन्चारकर्मीहरुसँग धमलाले बलात्कार तथा हत्या जस्ता जघन्य अपराध नियन्त्रणका लागि संविधान र कानुन संशोधन गरेर भए पनि फाँसिको सजायको हुनुपर्नेमा जोड दिए ।

‘धेरै नारीमाथि शोषण भएको छ, महिला हिंसा भएको छ। म सिमरा गएर फर्किएपछि मेरो मन रोएको छ,’ धमलाले भावुक हुँदै भने ।


धमलाले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई बालक वा नाबालकको नाममा उन्मुक्ति दिन नहुने धारणा राखे। ‘बलात्कारी नाबालक हुँदैन। सरकारले यस्तो जघन्य अपराध गर्ने दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्छ।,’ धमलाले आक्रोशित हुँदै भने।

उनले सरकारसँगै सबै राजनीतिक दललाई संविधान संशोधनका लागि तयार हुन आग्रह गरे। यस्ता घटना दोहोरिन नदिन ऐन, कानुनलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ छ।

‘सरकार र सबै राजनीतिक दल संविधान संशोधन गर्न तयार हुनुपर्छ। ऐन–कानुन बलियो बनाउनुपर्छ। अब यस्ता घटना दोहोरिन दिनु हुँदैन,’ धमलाले भने।

गरिमा हत्याकाण्डमा अपराधीसँग कुनै पनि प्रकारको सम्झौता गर्न नहुने भन्दै धमलाले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा सजाय दिनुपर्ने बताए।


गरिमाको न्यायका लागि आयोजित प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए। उनीहरूले घटनाबारे गृहमन्त्री र कानुनमन्त्रीले तत्काल चासो लिएर पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्।