पर्वत । पर्वतको फलेवास नगरपालिका–१०, कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका–१, बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटोरिक्सा आइतबार दिउँसो फलेवास–१०, कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी अटोमा सवार बिहादी गाउँपालिका–१, बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिए ।
“दुर्घटनामा चारजना घाइते भएका छन् । बिहादी–१ की २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ । उहाँको अवस्था मध्यम छ । १५ वर्षीया अञ्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ,” उनले भने ।
अटो चालक फलेवास नगरपालिका–११, पङराङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको प्रहरी निरीक्षक पटेलले बताए । उनका अनुसार, घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पटेलले जानकारी दिए । ओरालो बाटोमा ब्रेक नलागेकाले चालकले अटो नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनको भनाइ छ । रासस




प्रतिक्रिया