हीनभावबाट आत्मबलतर्फ: उत्प्रेरणाको परिपक्व दस्तावेज ‘सपना साकार हुन्छन्’


काठमाडौँ । व्यक्तिगत द्विविधा, निराशा र आधुनिक जीवनका अनेकन जटिलताहरूबीच आत्मविश्वासको दियो बाल्नु सहज काम होइन। तर, बैंकर तथा लेखक डा. बुद्धि मल्लको दोस्रो कृति ‘सपना साकार हुन्छन्’ले पाठकलाई निराशाबाट आशा र असफलताबाट सम्भावनाको यात्रातर्फ लैजाने एक सु-स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। शिखा बुक्सद्वारा प्रकाशित र नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचित यो कृति नेपाली उत्प्रेरणात्मक साहित्यमा विचार र दर्शनको एक परिपक्व जोड बनेर आएको छ।
पुस्तकमा संगृहीत ४९ वटा प्रेरक लेखहरूले आधुनिक मानव जीवनका विविध आयामहरूलाई मसिनोसँग केलाएका छन्। लेखकले ‘सानो सोच्ने जोखिम’बाट बचेर ठूलो सपना देख्न र इतिहास रचना गर्न आह्वान गरेका छन्। पुस्तकमा समावेश ‘समस्या समाधानमा फाइभ ह्वाई सिद्धान्त’, ‘नेतृत्वका प्रकारः असल, खराब र कुरूप’, ‘सफल दाम्पत्यका लागि मनको कुरा बुझ्नुपर्छ’, ‘सबैभन्दा ठूलो वरदान, ओठबाट निस्कने मुस्कान’, ‘अर्धशिक्षा खतरनाक हुन्छ’ जस्ता विषयहरूले सतही उत्प्रेरणा मात्र दिँदैनन्, बरु पाठकलाई सूक्ष्म विश्लेषणात्मक चेत र समस्या समाधानको व्यावहारिक दृष्टिकोणसमेत प्रदान गर्छन्।

त्यस्तै, कृतिमा मानवीय सामर्थ्य, कर्मशीलता र आत्मबलको सूक्ष्म अन्वेषण गरिएको छ। सक्षमता र सफलताको प्राप्ति कुनै आकस्मिक संयोग नभई अनवरत मिहिनेत, धैर्य र सङ्घर्षको परिणति हो भन्ने शाश्वत सत्यलाई पुस्तकले आफ्नो मुख्य विषयवस्तु बनाएको छ। लेखकले सफल व्यक्तित्वहरूका जीवन प्रसङ्गलाई व्यावहारिक दृष्टान्तका रूपमा प्रस्तुत गर्दै सकारात्मक सोच र सङ्कल्पले कसरी असम्भवप्रायः लक्ष्यलाई यथार्थमा बदल्छ भन्ने व्यावहारिक सूत्रहरू पस्किएका छन्।
पुस्तकमा सङ्ग्रहित लेखहरू प्रेरक प्रसङ्गमा मात्र सीमित छैनन्, तिनले लक्ष्य निर्धारण, नैतिक निष्ठा, व्यावहारिक सोच, मानवीय व्यवहार र नेतृत्व क्षमताजस्ता बहुआयामिक विषयमाथि गम्भीर विमर्श छेडेका छन्। मानव-जीवनका सफलता र असफलताका आयामहरूलाई वस्तुनिष्ठ ढङ्गले केलाउँदै कृतिले पाठकलाई आत्मसमीक्षाको मार्गमा अग्रसर गराउँछ। ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लोकसम्मत मान्यतालाई आधुनिक जीवनशैली र व्यक्तिगत विकासको सन्दर्भसँग जोडेर प्रस्तुत गर्नु यस कृतिको मुख्य सामर्थ्य हो।

डा. मल्लको यो कृति उनको पहिलो सफल पुस्तक ‘सफलता सम्भव छ’को विचार र अनुभवको निरन्तरता मात्र नभई अझ बढी परिपक्व र परिमार्जित प्रस्तुति हो। बैंकिङ क्षेत्रको गहिरो व्यवस्थापकीय अनुभव र अध्ययनको छाप पुस्तकका प्रत्येक पानामा स्पष्टसँग देख्न सकिन्छ, जसले गर्दा विचारहरू काल्पनिक नभई यथार्थपरक र कार्यान्वयनयोग्य लाग्छन्।

क्लिष्ट शब्दहरूको प्रयोग नगरी सरल, सुबोध र सम्प्रेषणीय भाषामा गहन दर्शन पस्कनु यस कृतिको सबैभन्दा सशक्त पक्ष हो। आजको तीव्र प्रतिस्पर्धी, मानसिक तनावयुक्त र अन्योलग्रस्त समयमा यो पुस्तक युवापुस्ता, विद्यार्थी, उद्यमी तथा पेशाकर्मी सबैका लागि उत्तिकै सान्दर्भिक छ। ‘म गर्न सक्दिनँ’ भन्ने हीनभावबाट ग्रसित मनहरूमा ‘म गर्न सक्छु’ भन्ने दरिलो आत्मबल जगाउन र चुनौतीहरूलाई अवसरमा बदल्न यसले उत्प्रेरित गर्छ।

सरल भाषा शैली र गहिरो जीवनदर्शनको सन्तुलन मिलेको यो कृति कर्मनिष्ठ बन्न चाहने जोकसैका लागि प्रेरक दस्तावेज हो। अदम्य इच्छाशक्ति र निरन्तरको प्रयत्नले सपनालाई विपनामा परिणत गर्न सकिन्छ भन्ने सशक्त सन्देश प्रवाह गर्न पुस्तक पूर्णतः सफल देखिन्छ।

‘सपना साकार हुन्छन्’ एकपटक पढेर पन्छाउने पुस्तक होइन, बरु जीवनका अप्ठ्यारा मोडहरूमा मार्गदर्शन खोज्न पटक–पटक अध्ययन गर्नुपर्ने जीवनोपयोगी निर्देशिका हो। सकारात्मक सोच र सम्भावनाको नयाँ ढोका उघार्ने यो कृति निःसन्देह निकै उत्कृष्ट, पठनीय र सङ्ग्रहणीय छ।