बैंकक । थाइल्यान्डमा आयोजित भव्य ‘ग्लोबल एसिया नेपाल एक्सेलेन्ट अवार्ड २०२६’ (Global Asia Nepal Excellent Award 2026) समारोहमा भागीरथा विष्ट (सुधा कुमार) प्रतिष्ठित ‘पावर अफ वुमेन अवार्ड २०२६’ बाट सम्मानित भएकी छन् ।
महिला सशक्तीकरण, सामाजिक योगदान, कुशल नेतृत्व क्षमता तथा समाजप्रतिको जिम्मेवारीपूर्ण भूमिकाको उच्च कदर गर्दै उनलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
कसैसँग एक रुपियाँ पनि नलिई आफ्नै व्यक्तिगत प्रयासमा पीडित महिला तथा बालबालिकाको संरक्षण र सेवामा समर्पित ‘मातापिता स्नेहघर’की अध्यक्ष भागीरथाको अभूतपूर्व योगदानको उच्च कदर गर्दै थाइल्यान्डको बर्मेली नेपाली समाज (पिआनो) ले उनलाई विशेष सम्मान प्रदान गरेको हो।
झापाको माटोमा हुर्किएर काठमाडौँको कलङ्कीलाई कर्मभूमि बनाएकी भागीरथा स्पष्ट विचार, सिधा जवाफ र सत्यका पक्षमा दृढतापूर्वक उभिने निर्भीक व्यक्तित्वकी धनी हुन् । अरूको दुःखलाई आफ्नै सम्झेर असहायको जीवनमा आशाको किरण भर्ने उनको संवेदनशील मन नै उनको वास्तविक पहिचान बनेको छ।
सङ्घर्षसँग नझुकी र सिद्धान्तसँग सम्झौता नगरी अघि बढेको उनको जीवनयात्रा ‘पावर अफ वुमन’को जीवन्त उदाहरण हो। कर्मले बनाएको उनको पहिचान, सत्य बोल्ने साहस र सेवाभाव समाज एवं भावी पुस्ताका लागि प्रेरणाको दीप बनेको छ।
नारी शक्ति, आत्मविश्वास, भागीरथाको निरन्तरको संघर्ष र सफलताको प्रेरणादायी यात्रालाई अन्तर्राष्ट्रिय मञ्चमा कदर गरिनु सम्पूर्ण नेपाली महिलाका लागि गौरवको विषय बनेको छ। थाइल्यान्डको भूमिमा प्राप्त यस सम्मानले नेपाली महिलाको क्षमता, प्रतिभा र योगदानलाई विश्वभर थप उजागर गरेको छ।
प्रवासमा रहेका बर्मेली नेपालीहरूले पितृथलोमा निरन्तर समाजसेवामा तल्लीन सच्चा र निष्ठावान् व्यक्तित्वको खोजी गरी सम्मान गर्नु आफैँमा अनुकरणीय एवं सराहनीय कदम बनेको छ। आफ्नै सङ्घर्ष र प्रतिबद्धताबाट समाजमा परिवर्तनको दीप बालेकी एक निर्भीक नारी भागीरथालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गरी सम्मान गरिँदा नेपाल र नेपालीको स्वाभिमान थप उच्च बनेको हो।
‘नारीको सम्मान, राष्ट्रको सम्मान’ भन्ने मर्मलाई चरितार्थ गर्दै भागीरथाले हासिल गरेको यो उपलब्धिले विश्वमञ्चमा नेपालको पहिचानलाई अझ उच्च बनाएको छ। उनको आगामी दिनहरूमा अझ उच्च सफलता, सम्मान र निरन्तर सामाजिक योगदानका लागि विभिन्न क्षेत्रबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।




प्रतिक्रिया