भोटेकोशी बाढीपछि रास्वपाको अपिल : तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा बुधबार जारी विज्ञप्तिमा बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीप्रति सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकाे छ । त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई विशेष सतर्कता अपनाउन पार्टीले आग्रह गरेको छ।

बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र उच्च सतर्कताका साथ परिचालन गर्न रास्वपाले सरकारलाई आग्रह गरेकाे छ । जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा पनि पार्टीले जोड दिएको छ।

रास्वपाले नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न अपिल गरेको छ। अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक सम्बन्धित नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्नसमेत आग्रह गरिएको छ।

कुनै पनि आपतकालीन अवस्था सिर्जना भएमा नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्न रास्वपाले अनुरोध गरेको छ।

साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ।