काठमाडौँ, १० भदौ (रासस) । मुस्ताङ नेपालको उच्च हिमाली तथा ट्रान्स–हिमालय क्षेत्रमा पर्ने भएकाले जलवायु परिवर्तनका प्रभावप्रति अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिदैछ । यहाँ तापक्रम वृद्धि, वर्षा र हिमपातको स्वरूपमा परिवर्तन, हिमनदी तथा हिउँ पग्लिने क्रम, पानीका स्रोतमा परिवर्तन र चरम मौसमी घटनाले कृषि, पशुपालन, जैविक विविधता र स्थानीय जनजीवनमा प्रभाव पारिरहेका छन् ।
मुस्ताङमा जलवायु परिवर्तन केवल तापक्रम बढ्ने विषय मात्र होइन; यसले पानी, कृषि, पशुपालन, जैविक विविधता, संस्कृति, पर्यटन र स्थानीय अर्थतन्त्रलाई एकसाथ प्रभावित गरिरहेको छ । त्यसैले मुस्ताङका लागि स्थानीय ज्ञान र आधुनिक विज्ञानलाई जोडेर जलवायु उत्थानशील कृषि, पानी संरक्षण र जोखिम न्यूनीकरणमा आधारित दीर्घकालीन योजना आवश्यक छ । २०२५ को मुस्ताङ कृषि–जैविक विविधता सर्वेक्षणले पनि जलवायु परिवर्तनका कारण हिमनदी पग्लिनु, मौसमको स्वरूप परिवर्तन र हिमपातमा कमीले कृषि तथा पानीका स्रोतमा खतरा बढाएको उल्लेख गरेको छ ।
वातावरणीय प्रभाव
मुस्ताङमा विगतका दशकमा तापक्रम बढ्दो क्रममा रहेको अध्ययनहरूले देखाएका छन् । मुक्तिनाथ क्षेत्रमा गरिएको अध्ययनमा १९८५–२०१६ बीच अधिकतम, न्यूनतम र औसत तापक्रममा क्रमशः वृद्धि देखिएको छ । तापक्रम वृद्धिसँगै हिमपातमा कमी र हिउँ पग्लिने समयमा परिवर्तन आउँदा वातावरणीय सन्तुलन तथा जनजीवनमा प्रत्यक्ष असर देखिएको छ ।
मौसम (पुस–माघ) मा हिउँ नपर्ने बेमौसम (चैत–वैशाख)मा हिउँ पर्ने गर्दा पानीका मुहानहरु सुक्न जाने तथा जमिनमा आद्रता नहुँदा सुक्खा पहिरो जाने समस्या देखिन थालेको छ । गर्मीयाममा हिउँ पर्दा चाँडै पग्लिने भएकाले पहाडमा हिउँमा मात्रा घट्न गई कालापथ्थरमा परिणत हुने गरेको छ । जाडोमा पर्याप्त हिमपात नहुने र हिउँ पहिलेभन्दा छिटो पग्लिने प्रवृत्तिले हिमाली जलचक्रमा असर पारेको छ । यसले सिँचाइ तथा खानेपानीमा दीर्घकालीन चुनौती सिर्जना गर्न शुरु भएको छ ।
जलवायु परिवर्तनसँगै पहिरो, हिमपहिरो, चट्टान खस्ने घटना तथा अन्य चरम मौसमी जोखिम बढ्न सक्छन् । हिमनदी तथा स्थायी हिउँ पग्लिँदा हिमाली भू–भाग अस्थिर हुने सम्भावनासमेत रहन्छ । तापक्रम र पानीको उपलब्धतामा आएको परिवर्तनले वनस्पति, चरन क्षेत्र तथा वन्यजन्तुको बासस्थानमा प्रभाव पारिरहेको छ । नीलो भेडा तथा हिमचितुवाजस्ता उच्च हिमाली वन्यजन्तुको बासस्थान र आहार प्रणालीमा समेत परिवर्तनको जोखिम देखिएको छ । यसको असर कृषि, पशुपालन, संस्कृति र जैविक विविधतामा समेत परेको छ ।
जनजीवनमा असर
मुस्ताङको कृषि र बस्तीहरू सिँचाइका लागि स्थानीय मुहान, हिमपानी र मौसमी पानीमा निर्भर रहेका छन् । वर्षा र हिमपातको अनिश्चितताले मुहान तथा सिँचाइ प्रणालीमा पानीको उपलब्धता कम हुँदै गएको छ । पानीको मुहान सुक्न गएपछि तीन वर्षअघि लोमाङथाङको २७ घर परिवार बस्दै आएको सोमजुङ बस्ती सोसेरमा स्थानान्तरण गर्नुपरेको छ ।
तापक्रम तथा वर्षाको परिवर्तनले बाली लगाउने र भित्र्याउने समय परिवर्तन भएको छ । फापर, जौ, गहुँ, आलु, सिमी तथा फलफूलजस्ता स्थानीय उत्पादनमा मौसमको अनिश्चितताले जोखिम बढाएको छ । सन् २०००–२०१६ बीच थासाङ क्षेत्रमा कृषि भूमि प्रयोगमा उल्लेख्य कमी देखिएको एक अध्ययनले जनाएको छ । चरन क्षेत्र र घाँसको उपलब्धतामा परिवर्तन हुँदा याक, चौँरी, च्याङ्ग्रा तथा अन्य पशुपालन प्रभावित हुन सक्छ । यसले परम्परागत हिमाली जीविकोपार्जन प्रणालीमा असर पार्छ ।
मुस्ताङको प्रसिद्ध स्याउ खेतीमा तापक्रम परिवर्तनले खेतीयोग्य क्षेत्र र उत्पादन प्रणाली परिवर्तन गर्ने सम्भावना बढाएको छ । जिल्लाकै पहिचानको रुपमा रहेको स्याउको उत्पादन पनि विस्तारै घट्न थालेको छ । जिल्लाको तल्लो भेगमा उत्पादन कम हुँदै उपल्लो भेगतिर राम्रो उत्पादन हुन थालेको देखिन्छ । यसरी उत्पादन सर्दै जाँदा केही वर्षमा जिल्लामा स्याउन नै नपाउने अवस्था आउनसक्ने जोखिम बढेको छ । केही स्थानमा बढ्दो तापक्रमले नयाँ तरकारी तथा फलफूल खेतीका अवसरसमेत सिर्जना गरेको देखिन्छ ।
तापक्रम बढेसँगै केही नयाँ कीरा, झिँगा तथा वनस्पति रोगको समस्या देखिएको अध्ययनमा उल्लेख छ । यसले कृषि उत्पादनको लागत र जोखिम बढाउन थालेको छ । मुस्ताङको पर्यटन प्राकृतिक सौन्दर्य, हिमाल, पदमार्ग, संस्कृति र मौसममा निर्भर छ । हिमपात, पहिरो, सडक अवरोध तथा चरम मौसमले पर्यटकको आवागमन र पर्यटन पूर्वाधारमा जोखिम बढाउन सक्छ ।
अनुकूलनका उपायको खोजी
मुस्ताङमा जलवायु परिवर्तनसँग जुध्न जलस्रोत संरक्षण, वर्षाको पानी सङ्कलन, साना पोखरी निर्माण, जलवायु–मैत्री कृषि, स्थानीय बीउ तथा पशु नस्ल संरक्षण, कृषि क्यालेन्डरमा परिवर्तन, कीरा नियन्त्रण, सिँचाइ प्रणाली सुधार र प्रारम्भिक चेतावनी प्रणालीलाई प्राथमिकता दिन आवश्यक छ । स्थानीय समुदायले पहिले नै कृत्रिम पोखरी निर्माण, बाली लगाउने÷भित्र्याउने समय परिवर्तन तथा कीरा नियन्त्रणजस्ता उपाय अपनाइरहेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेसँगै जिल्लामा सवारी चापमा वृद्धि, फोहरमैलाको समस्या र वायु प्रदूषणको समस्या बढ्न थालेको छ । सदरमुकाम रहेको घरपझोङ गाउँपालिकाको पहलमा फोहरलाई मोहरमा परिणत गर्ने उद्देश्यले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको छ भने फोहर उठाउन पनि विद्युतीय रिक्साको प्रयोग गरिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने कार्य हुँदैछ । यस्तै इसिमोड र प्राक्टिकल एक्सन नामक संस्थाको सहयोगमा पालिकामा घरभित्रको धुवाँको प्रदूषण अन्त्य गर्न विद्युतीय चुलो, सौर्य तापीय प्रणालीजस्ता स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिइएको छ । प्लास्टिकलाई न्यूनीकरण गर्न कपडाको झोलाको प्रयोगलाई अनिवार्य गरिँदैछ ।
जलवायु परिवर्तनको नकारात्मक असरसँगै तापक्रम वृद्धिका कारण मौसमी तथा बेमौसमी तरकारी खेती राम्रो उत्पादन हुन थालेको छ । जिल्लालाई अर्गानिक जिल्ला घोषणामा जिल्लामै उत्पादित तरकारीले नपुग्ने हुँदा बाहिरबाट तरकारी, फलफूललगायत अन्य खाद्यान्न ल्याउन पर्दा कठिनाइ भएको छ । जिल्लामा पर्यटकहरुको आगमन बढेसँगै सवारीसाधनको सङ्ख्या बढेकाले प्रदूषणको समस्या न्यून गर्न विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशन स्थापना गरिएको छ ।
जलवायु सम्मेलनको आयोजना
जलवायु परिवर्तनका असर, चुनौती र अनुकूलनका उपायबारे साझा धारणा बनाउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले यही भदौ ३० र ३१ गते राष्ट्रियस्तरको जलवायु सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहको सहभागिता रहनेछ । सम्मेलनबाट हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेका प्रभाव, स्थानीय तहले भोगिरहेका जलवायुजन्य विपद् र समस्याको पहिचान गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका साझा रणनीति बनाउने, स्थानीय तहहरूबीच अनुभव र ज्ञान आदान–प्रदान गर्न तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यान जलवायु सङ्कटतर्फ आकर्षित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनको अन्त्यमा जारी गरिने ‘घरपझोङ घोषणापत्र २०८३’ मार्फत जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा प्रतिबद्धता प्रस्तुत गर्ने लक्ष्य राखिएको छ । गत वर्ष भदौ ३० र ३१ गते तय गरिएको यस किसिमको सम्मेलन भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनका कारण स्थगित भएकामा यस वर्ष आयोजना गरिएको हो । जलवायु परिवर्तनका कारण यहाँ हिमपातको स्वरूपमा परिवर्तन, पानीका मुहान सुक्ने, चरन क्षेत्र घट्ने, हिमपहिरो, बाढी–पहिरो तथा नदी कटानजस्ता समस्याबाट बढी प्रभावित मुस्ताङको कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको पृष्ठभूमिमा सम्मेलन आयोजना गर्दा सहभागीहरुले हिमाली क्षेत्रका समस्याको प्रत्यक्ष अनुभूति गर्नसक्ने र समाधानका विभिन्न उपायहरुका बारेमा पनि व्यापक छलफल गर्नसक्ने अवसर हुन सक्दछ ।
यस जलवायु सम्मेलन मुस्ताङको मात्र समस्या उठाउने कार्यक्रम नभई हिमालदेखि तराईसम्मका स्थानीय तहलाई एउटै मञ्चमा ल्याएर जलवायु न्याय र सामूहिक समाधान खोज्ने राष्ट्रिय पहलका रूपमा महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ । स्थानीय जनताले नगरेको गल्तीको सजाय कसरी पाइरहेका छन् भन्ने अनुभूति पनि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा गराउन सम्मेलन उपयोगी हुनसक्छ ।
(प्रस्तुत विचार घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनसँग गरिएको कुराकानीमा आधारित)




प्रतिक्रिया