शिर मेमोरियल अस्पताललाई बहिरङ्ग सेवा भवन हस्तान्तरण


बनेपा (काभ्रे), १० भदौ । आज शिर मेमोरियल अस्पताललाई ‘बहिरङ्ग सेवा’ भवन हस्तान्तरण गरिएको छ ।
उक्त भवन बनेपा निवासी राजभाइ प्रधानको आर्थिक सहयोगमा निर्माण गरिएको हो । अस्पतालको झन्डै १० आना जग्गामा भवन निर्माण गरिएको थियो ।

साढे चार तले उक्त भवनमा ३७ वटा कोठा छन् । एक व्यक्तिको समर्पण र आर्थिक सहयोगमा निर्माण भएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा आउन अझै दुई महिना लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी तथा सूचना अधिकारी एन्जिला बस्नेतले नवनिर्मित उक्त भवन निर्माणबाट स्वास्थ्य सेवामा थप बल पुगेको बताए । उनले बिरामीको चाप बढिरहेको अवस्थामा अस्पताललाई भवन निर्माण गरी आज हस्तान्तरण भएकोमा प्रधानलाई विशेष धन्यवाद व्यक्त गर्दै उनको इच्छा शक्तिलाई अस्पतालले कहिल्यै मर्न नदिने बताए ।

अस्पतालका चिकित्सक डा अमिश कार्कीले नवनिर्मित बहिरङ्ग सेवा भवन अस्पतालका लागि वरदान सावित भएको जानकारी दिए ।

सहयोगी दाता राजभाइ प्रधानले अस्पताल भवन निर्माण गर्ने अवसर जुटाइदिएकोमा अस्पताल परिवारलाई धन्यवाद व्यक्त गरे । भवन कूल रु पाँच करोड १३ लाख ६० हजारको लागतमा निर्माण पूरा भएको वरिष्ठ चिकित्सक बस्नेतले जानकारी दिए ।