‘एक वर्षभित्र सबै पीडितलाई घर देऊ, अब राजनीति होइन पुनर्निर्माणमा जुटौँ’- धमला


काठमाडौँ । देश भीषण बाढी र पहिरोको महाविपत्तिसँग जुधिरहेका बेला स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले राष्ट्रिय एकता र द्रूत पुनर्निर्माणको दूरदर्शी खाका प्रस्तुत गरेका छन्। विपद्को यस कठिन घडीमा सधैँझैँ अग्रपंक्तिमा उभिएर जनताको आवाज बुलन्द गर्दै धमलाले एक विशेष पत्रकार सम्मेलनमार्फत सरकार, राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन आह्वान गरेका हुन् ।

एक वर्षभित्रै पीडितलाई घर र ‘फास्ट ट्र्याक’ मोडल
विगतमा भूकम्पपछिको पुनर्निर्माणमा पाँच वर्ष लागेको स्मरण गराउँदै धमलाले यसपटकको बाढीको विनाशपछि कुनै पनि ढिलासुस्ती सह्य नहुने उल्लेख गरेका छन्। ‘हिजोको भीषण बाढीले ठूलो धनजनको क्षति गरेको छ। अब एकले अर्कालाई खुइल्याउने होइन, देश बनाउने अभियानमा जुट्नुपर्छ,’ धमलाले भने।

वास्तविक तथ्याङ्क सङ्कलन गरी सरकारले एक वर्षभित्रै घरबारविहीन सबै नागरिकलाई घर बनाइदिनुपर्ने र त्यसका लागि ‘फास्ट ट्र्याक मोडल’ अपनाउनुपर्नेमा उनले विशेष जोड दिए।

स्थलगत अवलोकन र प्रमुख नेताहरूलाई रचनात्मक सुझाव
हिजो आफैँ नुवाकोट पुगेर जनताको दुःख सुनेका धमलाले आज राहत पुर्याउन प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूलाई आग्रह गरे। उद्धार र राहतमा कसैले पनि आग्रह–पूर्वाग्रह राख्न नहुनेमा धमलाले जोड दिए । यस्तो बेला दलीय झण्डा र राजनीतिक स्वार्थ त्याग्नुपर्नेमा धमलाले जोड दिएका छन् ।
यसैबीच अध्यक्ष धमलाले रास्वपा सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकको सराहना गर्दै प्रधानमन्त्री बालेनले सर्वदलीय बैठकमा आफ्नो स्पष्ट दृष्टिकोण राखेर मात्र नुवाकोट पुगेको भए अझ प्रभावकारी हुने तर्क गरे।
साथै, अध्यक्ष धमलाले दलले छानेका सर्वस्वीकार्य र स्वतन्त्र नागरिक रहेको निष्पक्ष उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिए।

भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद र अन्तर्राष्ट्रिय आह्वान
नेपाललाई अप्ठ्यारो पर्दा भारतले सधैँ साथ दिएको उल्लेख गर्दै अध्यक्ष धमलाले उद्धारका लागि तत्काल हेलिकप्टर र राहत सामग्री पठाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवाद ज्ञापन गरे। भूकम्पका बेला पनि भारतले गरेको सहयोगको धमलाले प्रशंसा गरे । साथै चीन, अमेरिका, युरोपेली युनियन र विश्व बैंक जस्ता साझेदारहरूलाई पनि यस महाविपत्तिमा उदार सहयोगका लागि धमलाले आह्वान गरे।

लगानी सम्मेलनमा जोड
क्षतिग्रस्त पुल, जलविद्युत् आयोजना र ठूला पूर्वाधारको पुनर्निर्माणका लागि अध्यक्ष धमलाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक भव्य लगानी सम्मेलन आयोजना गर्न प्रस्ताव गरे। मित्रराष्ट्र, अन्तर्राष्ट्रिय दाता र गैरआवासीय नेपालीहरूलाई गोलबद्ध गर्न सके २–४ खर्ब रूपैयाँ उठ्न सक्ने सुझाव दिँदै त्यसो हुन सके पुनर्निर्माणले तीव्रता पाउने धमलाको भनाइ छ।

पत्रकार सम्मेलनको अन्त्यमा धमलाले बाढी पहिरोमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र उपचारको माग गरे। विपद्को समयमा ज्यानको बाजी लगाएर उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उच्च प्रशंसा गर्दै धमलाले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागी जनतालाई केन्द्रमा राखेर अघि बढ्न सबैसँग अपिल गरे ।