काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि नेपाली सेनाले व्यापक अभियान सञ्चालन गरिरहेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रभावित क्षेत्रमा ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरी निरन्तर उद्धार र राहत कार्य जारी राखिएको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सञ्चालित अभियानका प्रमुख विवरण:
- हवाई तथा स्थल उद्धार: उद्धार कार्यका लागि ६ वटा सैनिक र ९ वटा गैरसैनिक गरी कुल १५ वटा हेलिकप्टर प्रयोग गरिएका छन्। हालसम्म सैनिक हवाई साधनबाट ७२४ र गैरसैनिकबाट १०५ गरी ८२९ जनाको हवाई उद्धार गरिएको छ, जसमा १०१ जना विदेशी नागरिक रहेका छन्। यसका साथै जमिनको बाटो हुँदै २०० जनाको सकुशल उद्धार गरिएको छ।
- स्वास्थ्य सेवा र उपचार: उद्धारसँगै प्रभावितहरूको स्वास्थ्य उपचारलाई सेनाले उच्च प्राथमिकता दिएको छ। वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित आपत्कालीन उपचार केन्द्रमार्फत ५८३ जना र धुन्चेमा खटिएको फिल्ड एम्बुलेन्स टोलीले ५६२ जना गरी हालसम्म कुल १ हजार १४५ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ।
- ड्रोन र सैनिक कुकुरको प्रयोग: कठिन भौगोलिक अवस्था र पहिरोका कारण अवरुद्ध क्षेत्रमा खोज कार्यलाई तीव्र बनाउन सेनाले अत्याधुनिक ड्रोन र विशेष तालिमप्राप्त सैनिक कुकुरहरू परिचालन गरेको छ।
- राहत ढुवानी र वितरण: २० वटा ट्रकमार्फत त्रिशूलीमा राहत सामग्री पुर्याइएको छ। त्रिशूलीमा सङ्कलन गरिएको राहत सामग्रीलाई आवश्यकताअनुसार हेलिकप्टरमार्फत दुर्गम तथा प्रभावित बस्तीहरूमा पुर्याउने काम भइरहेको छ।
नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार, निःशुल्क उपचार र राहत सामग्री वितरणको कार्यलाई निरन्तरता दिइने जनाएको छ।




प्रतिक्रिया